२०७८ माघ २८ गते
कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा रहेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले काम चलाइरहेका छन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायत अन्य विभागका कर्मचारीले कालीकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका हुन् ।

उपसचिवको दरबन्दी रहेको रास्कोट नगरपालिकामा पशुसेवाका आठौं तहका प्राविधिक कर्मचारी जवानसिंह बम, खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारी जसीप्रसाद चौलागार्इं र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौं तहका कर्मचारी लक्ष्मणप्रसाद चौलागाईंलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, पलाँतामा छैटौं तहका कर्मसिंह बम, सान्नी त्रिवेणीमा छैटौं तहका नेत्रबहादुर शाही, शुभकालिकामा छैटौं तहका केन्द्रबहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । उनीहरू पशु सेवा प्राविधिकतर्फका अधिकृत हुन् ।

पचाल झरनामा प्रशासनतर्फका अधिकृत वीरेन्द्रवहादुर बम र नरहरिनाथमा अधिकृत गणेशमान सिंहलाई जिम्मेवारी तोकिएको छ । कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह सञ्चालन गर्नु परेको शुभकालिका गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईंले बताए । ‘गाउँपालिकामा प्रशासनतर्फका अधिकृत रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रहने भन्ने छ,’ उनले भने, ‘दुर्गम कुनै कर्मचारी आउन नमान्ने भएकाले हामीले लामो समयदेखि निमिक्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम चलाउँदै आएको छ‌ौं ।’

प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि नआउँदा विकास निर्माणमा काममा असर पर्ने भएकाले निमित्त भरमा लामो समयदेखि काम गर्दै आएको रास्कोट नगर प्रमुख काशीचन्द बरालले जानकारी दिए । ‘विकासका निर्माणका काम रोक्नु भएन । उपसचिव दुर्गममा नगरपालिकामा आउन मान्दैनन्,’ उनले भने,’त्यसैले पनि निमित्तका भरमा स्थानीय तहका सरकार चलाइरहेका छौं ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *