२०७८ माघ २८, शुक्रबारसशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अवैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।
शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर लागुऔषध र मोटरसाइकल छाडेर फरार भएको एसपी खनियाँको भनाइ छ ।
तस्करले बोरामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको हो । बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढे सँगै दुर्व्यसनसमेत बढेको प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोबारी नियन्त्रणका लागि अभियान नै सञ्चालन भइरहेको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।