२०७८ फाल्गुन २, सोमबार
अमेरिकी सहयोग परियोजना एमसीसीको खारेजीको माग गर्दै नेकपा एकीकृत समाजवादीका वर्गीय संगठनले मधेशको विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।

सत्तासीन दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी पूर्णतः आर्थिक परियोजना भएको दाबी गरिरहेको बेला गठबन्धनकै अर्का दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी) निकट जनवर्गीय संगठनहरुले भने कुनै पनि हालतमा एमसीसीको विरुद्ध प्रदर्शन गरेको छ । आइतबार सप्तरी सदरमुकाम राजविराजमा नेकपा एकीकृत (समाजवादी) निकटका नेपाल बुद्धिजीवी परिषद्, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल महिला संघ, युवा संघ नेपाल लगायतका जनवर्गीय संगठनले संयुक्त रुपमा एमसीसी विरुद्ध प्रदर्शन गर्दै कुनै हालतमा एमसीसी लागु नगर्न माग गरेको छ ।

स्थानीय शिव मन्दिरको प्राङ्गणमा भेला भई निकालिएको विरोध जुलुसका सहभागीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, ‘नो’ एमसीसी लगायतका नारा अंकित प्लेकार्डसहित बजार क्षेत्रको परिक्रमा गरेका थिए ।नगर परिक्रमा पश्चात् जनआन्दोलन चोकमा नेकपा एकीकृत (समाजवादी)ं निकटका नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष अनिल कुमार अनलको अध्यक्षतामा आयोजित विरोधसभामा महिला संघकी सप्तरी अध्यक्ष ममता चौधरी, युवा संघ नेपालका आनन्ददेव यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका कौशलेन्द्र कुमार यादव लगायतले यथास्थितिमा एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुनेमा जोड दिए ।

जनमत एमसीसीको विरोधमा रहेको दाबी गर्दै उनीहरुले एमसीसीकै कारण गठबन्धन भत्कियो भने बरु सत्ता छाड्न पनि तयार रह्न आफ्ना नेताहरुलाई सचेत गराएका थिए । कांग्रेसले २०७६ पुस १७ मै केन्द्रीय समितिको बैठकबाट एमसीसी पास गर्ने निर्णय गरेको थियो । सत्ता साझेदार दल त्यसको विरोधमा उत्रिएपछि गठबन्धन टुट्ने सम्भावना पनि बढ्दै गएको छ ।

त्यसैगरी मिलिनियम चैलेंज कर्पोरेशन एमसीसीको विरुद्ध नेकपा एकीकृत समाजवादी पार्टीका वर्गीय संगठनका कार्यकर्ताहरुले रौतहट जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् । नेकपा एसका वर्गीय संगठन युवा संघ नेपाल र अखिल नेपाल किसान महासंघ रौतहटले नो एमसीसी भन्दै विरोध प्रदर्शन गरेका हुन् । एमसीसी सांसदबाट पारित गर्ने बहस चलिरहेको बेला पास नगर्नको लागि दवाव सृजना गर्ने लक्ष्यले नेकपा एकीकृत समाजवादी पार्टीको निर्णय अनुसार वर्गीय संगठनहरुले एमसीसीको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

गौर स्थित मधेशी क्रान्ति चोकबाट एमसीसी लागु गर्न पाइँदैन, देश बेच्न पाइँदैन , एमसीसी खारेज गर जस्ता नारा लगाउदै दर्जनौको सहभागितामा निस्केको रैली नगर परिक्रमा गर्दै पुनः मधेशी क्रान्ति चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभामा अखिल किसान महासंघ रौतहटका अध्यक्ष प्रदिप यादवले विकासको बहानामा अमेरिकाले आफ्नो साम्राज्य नेपालमा जमाउन खोजेकोले नेकपा एकीकृत समाजवादी पार्टीले त्यसको विरोधमा देश भरि प्रदर्शन गरेको बताए । उनले नेपाललाई गुलाम बनाउने राष्ट्रघाती एमसीसी सम्झौता रहेकोले खारेज गर्नु पर्ने माग समेत गरे । नेता यादवले भने नेपालको संविधान भन्दा माथिको कानून लागु गराउने दस्तावेज एमसीसी रहेकोले कुनै हालतमा लागु नगर्न सरकारसंग आग्रह गरेको छ ।

नेपालमा रहेका विभिन्न ठूला–ठूला कम्पनीले बाँकी राखेको कर असुल गर्न नसक्ने सरकारले मुलुकलाई अमेरिकाको दासत्व बनाउने सोचले आर्थिक प्रलोभनमा परी राष्ट्रघाती सम्झौता गर्न लागेको आरोप समेत लगाए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *