२ फाल्गुन २०७८
आज फेब्रुअरी १४ अर्थात् माया साटासाट गर्ने दिन। भ्यालेन्टाइन डे का नामले चिनिने आजको दिनमा म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल (प्रणय शिखर) मा मायालु जोडीको भीड लागेको छ।
आज मौसम पनि खुलेको छ। लभ्लीहिलको उत्तरतर्फ चाँदी झैँ सेता हिमश्रृङ्खला मुसुक्क मुस्कुराइरहेजस्ता देखिएका छन्। बेनी बजारलाई फन्को मारेर कालीगण्डकी र म्याग्दी नदी नागबेली हुँदै बगेको दृश्यलाई नियाल्दै प्रणय शिखरको शिरमा ऐतिहासिक ज्यामरुककोटको खड्गभवानी र पुछारमा बेनी बजारको सुन्दरतालाई साक्षी राखेर सुन्दर जोडी माया साटासाट गरिरहेका छन्।
एउटा हातमा गुलाबको फूल र अर्को हातमा उपहार लिएर प्रणय शिखर (लभ्लीहिल) मा पुगेका मायालु जोडीमा आज बिहानैदेखि बेग्लै रौनक र उमङ्ग देखिएको छ। म्याग्दीको सदरमुकाम बेनी बजारदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि पुगिने लभ्लीहिल बेनी नगरपालिका वडा नं २ मा पर्दछ। लभ्लीहिलमा रेष्टुरेन्ट सञ्चालन गरेका मानकाजी घिमिरेका अनुसार अघिपछिको तुलनामा केही दिनयता युवायुवतीको आगमन बढेको छ।
केही दिनयता टाढाटाढाबाट समेत युवायुवती आउन थालेपछि यहाँको रौनक थपिएको लभ्लीहिलमा विगत छ वर्षदेखि खाजा घर सञ्चालन गर्दै आएका चन्द्रबहादुर कार्कीले बताए। ‘अघिपछि खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती आज गुलाबका फूल र अन्य विभिन्न किसिमका उपहार बोकेर आएका छन्’, स्थानीय नारायण कार्कीले भने, ‘अघिपछिको भन्दा आजको माहोल छुट्टै छ, युवायुवतीको भीडले लभ्लीहिलको रौनक पनि बढेको छ।’
यहाँ अहिले विभिन्न आधुनिक पोसाकमा सजिएर बाइक, स्कुटीलगायतका सवारी साधनमा युवायुवती आएका छन्। सडकको पहुँच र पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा आउने युवायुवती र पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय चन्द्रबहादुर कार्की बताउँछन्।
आज बिहान आफ्नी प्रेमिकाका साथमा लभ्लीहिलमा आएका बेनीका एक युवाले आफ्नी प्रेमिकालाई उत्तरतिरको हिमाल देखाउँदै आफ्नो माया पनि हिमालजस्तै अटल र पवित्र रहेको आश्वासन दिइरहेका थिए। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत आठ हिमाल, बेनीबजार, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ।
लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ। पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूहसमूह बनाएर दैनिकरुपमा युवापुस्ता पुग्ने गरेका छन्। सामान्य समयमासमेत लभ्लीहिलमा मानिसको उपस्थिति देखिन्छ भने बिदाको समय र शनिबारको दिनमा त झन् भीडै लाग्ने गरेको छ। प्रायःकलेज पढ्ने उमेरका युवायुवती लभ्लीहिलमा देखिन्छन्। पछिल्लो समय तस्बीर खिचाउन र टिकटक बनाउन पनि यहाँ दैनिकजसो युवायुवतीको भीड लाग्ने गरेको छ। रासस

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।