२०७८ फाल्गुन २, सोमबार
छुट्टा–छुट्टै जिल्लाबाट लागु औषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केही स्थानीयको अवरोधका बीच सप्तरी प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका सप्तरीको राजगढ गाउंपालिका–१ झुटकीका २४ वर्षीय शिवशंकर यादवमाथि थप अनुसन्धान गर्न म्याद थपका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । अघिल्लो दिन शनिबार राती पक्राउ परेका यादवलाई आईतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिए पनि मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा विदा दिएको कारण सोमबार मात्र उपस्थित गराउने डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाको आधारमा पुगेको प्रहरीले यादवको घरको शौचालयको छेउमा लुकाई राखिएको कालो झोलामा प्रतिबन्धित लागुऔषध फेनारगन ९७ एमपुल र डाइजेपाम ९९ एमपुल बरामद गरेको थियो । उक्त बरामद लागु औषधसहित यादवलाई पक्राउ गरी ल्याउन खोज्दा स्थानीयवासीहरुले अवरोध गरेका थिए । प्रहरीलाई अवरोध गरेको खबर आएपछि राती नै थप प्रहरी पठाई यादवलाई ल्याइएको डिएसपी काफ्लेले बताए । उनले अपराधीलाई कसैले पनि संरक्षण र प्रोत्साहन नगर्न आग्रह समेत गरेका थिए ।

त्यसैगरी सर्लाही प्रहरीले लागुऔषधसहित मलंगवाबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–६का विक्रम वि.कका २२ वर्षीय छोरा दिपेश विक र सोही ठाउंका कृष्ण बम्जनको १९ वर्षीय छोरा सन्तोष बम्जन रहेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विक र बम्जनलाई मलंगवा नपा–९ बाट लागुऔषधसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ । शंकास्पद अवस्थामा देखेर प्रहरीले चेक जाँच गर्दा उनीहरुको साथबाट ५ सय ८५ पिस नाइट्रोभेट १० नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । पक्राउ परेका वि.क र बम्जनलाई जिप्रका मलंगवाको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको प्रवक्ता बुढाथोकीले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.