२०७८ फाल्गुन ४, बुधबार
जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशी वीर शहीदहरुको बलिदानीले मधेश र मधेशीले नेपाल भित्र पहिचानमा आधारित प्रदेश प्राप्त गरेको बताएका छन् ।

धनुषाको धनौजी गाउंपालिकाको बहुअर्वामा मंगलवार आयोजित वृह्त पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने,‘सैकडौं वर्षदेखि अपहेलित ,शोषित बनेका मधेशीहरुले मधेश प्रदेश नामकरण पछि आफ्नो पहिचानमा आधारित प्रदेशकावासी बनेका छन् वीर शहीदहरुकै रगतको बलमा यो अवस्था प्राप्त भएको हो।’ बिहारी, मर्सिया, देशिया शब्दहरुले अपमानित हुँदै आएका मधेशीहरुले आफ्नो पहिचान प्राप्त गरेपनि आठ जिल्लामा मात्रै मधेश नरहेको जिकिर गर्दै उनले भने,‘शासक वर्गले प्रदेश निर्माणको क्रममा पूर्वको झापा, मोरंग र सुनसरी तथा पश्चिमको नवलपरासीदेखि कञ्चनपुर सहितका जिल्लालाई अन्य प्रदेशमा गाभेर सो क्षेत्रका मधेशीहरुको पहिचानलाई संकटमा पारेको छ ।’

लाखौं मधेशीहरुको पहिचान संकटमा रहेकोले २२ जिल्लाकै मधेश निर्माणको लागि संघर्ष अझै जारी रहेको भन्दै अध्यक्ष यादवले अहिलेको मधेश प्रदेश निर्माणबाट मधेशीहरुलाई अपमान गर्ने दुस्साहस कसैले गर्न नसक्ने दाबी गरे । मेचीदेखि महाकाली सम्मको मधेशको लडाइ अहिले बाँकी रहेको बताउंदै उनले जनताकै संघर्षबाट सबै मधेशीहरुले अधिकार प्राप्त गर्ने विश्वास व्यक्त गरे । मधेश प्रदेश नामकरण हुनु मधेश विद्रोहबाट प्राप्त उपलब्धिको पहिलो खुड्किला मात्रै रहेको बताउंदै अध्यक्ष यादवले भने,‘नेपाली कांग्रेस र एमाले बहुमत रहेको प्रदेशहरुको नामकरण पूर्व तानाशाही राजा महेन्द्रको मार्गमै रहेर गरिएको र मधेश प्रदेशको नामकरण पहिचानको आधारमा भएको हो ।

‘नेपाली कांग्रेस र एमालेसंग मधेशी जनताले आश गर्नु दुर्भाग्यपूर्ण हो ’उनले भने, शासकवर्गकै कारण मधेशीहरु अन्य प्रदेशमा गाभिनुले उनीहरुको राजनीतिक अधिकार तथा अवसरहरु संकटमा परेको छ । दलित तथा गैरदलितहरु बीच अझै पनि ठूलो विभेद कायम रहेको भन्दै उनले सबैको लागि शिक्षा ,स्वास्थ्य लगायतका प्राथमिक अधिकार एकैनाश हुनु पर्ने बताए । असमानता र विभेद हटाउनका लागि यसलाई देशबाटै जरोसहित उखेलेर फ्याँक्नु पर्ने आवश्यकतामा जोड दिँदै अध्यक्ष यादवले भने जनसंख्यामा १२ प्रतिशत रहेको समुदाय देशको विभिन्न अंगमा ७० प्रतिशतको भागिदारी रहेको र ५३ प्रतिशत मधेशी नागरिकहरुको प्रतिनिधित्व न्युन रहनुले विभेदको चरम सीमा नाघेको प्रष्ट भएको उल्लेख गरे ।

‘संघीयता विरोधीहरुले जसपा विरुद्ध विभिन्न षडयन्त्रहरु गरिरहेका छन्’ अध्यक्ष यादवले भने, संघियता समाप्त गर्ने शक्तिले आन्तरिक र वाह्यरुपमा जसपामाथि दुवै तरिकाले आक्रमण गरिरहेका छन् । ती शक्तिका प्रत्येक आक्रमणलाई विफल पारिने उनले बताए ।‘संघियता समाप्त गर्ने सबै हमलालाई मधेशी जनताले विफल बनाएका छन्’अध्यक्ष यादवले भने, संघियता, लोकतन्त्र र गणतन्त्र समाप्त गरेर निरंकुश शासन चलाउन खोज्नेहरुको गुलामी अब मधेशी जनताले बर्दास्त गर्ने छैन् । वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो रहेकोले निर्वाचन प्रणालीमा परिवर्तनको खाँचो औंल्याउंदै उनले भने, ‘अहिलेको अवस्था निर्वाचन आयोगले निर्वाचन गराउन ५० अर्बको बजेट माग गरेको छ, अर्थात चुनाव कति धेरै खर्चिलो छ त्यो भनी राख्नु पर्दैन ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, राष्ट्रियसभा सदस्य मोहम्मद खालिद मियाँ सिद्धिकी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहितका वक्ताहरुले पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमबीच नेपाली कांग्रेस तथा नेकपा एमालेका दर्जनौ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष यादव सहितका नेताहरुले गमछा ओढाइ स्वागत गरेका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.