२०७८ फाल्गुन ६, शुक्रबार
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने बताएका छन् । उनले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरव गर्ने योजना रहेको बताए ।

विहीबार जनकपुरधाममा आयोजित प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले भने,‘ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलो हो र प्रदेशको मात्र नभई देशकै गौरवको रुपमा यसको विकास गर्ने मधेश सरकारको योजना छ । ’ कोरोनाको त्रास सहितको विषम परिस्थितिमा सुरु भएको प्रतिष्ठानमा एक वर्ष भित्रै ४ वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन सुरु हुनु मधेश प्रदेशमा प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो फड्को रहेको उनको कथन थियो ।

प्रतिष्ठानमा विशेष कोभिड अस्पतालको सञ्चालन र विशेष सेवाको सञ्चालन हुनु स्वागतयोग्य कार्य रहेको उनले बताए । प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरुको प्रयास सराहनीय रहेको भन्दै उनले भने, ‘ आगामी दिनमा प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिशामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार छ र यसमा सबैको सहयोग आवश्यक छ ।’

प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भइसकेको र वीरगञ्जमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तिम चरणमा रहेको जानकारी समेत उनले दिए । त्यसैगरी प्राविधिक शिक्षा सम्बन्धी विधेयक समेत संसदमा विचाराधीन रहेकोले एक महिना भित्रै पास हुने विश्वास व्यक्त गर्दै उनले विधेयक पास भए लगत्तै प्रदेशभरिका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको अध्ययन अध्ययापन सहज हुने धारणा राखे ।

प्राविधिक शिक्षा सम्बन्धी विधेयक ल्याउनु जरुरी नभए पनि सिटिइभिटीलाई प्रदेश मातहतमा ल्याउनकै लागि विधेयक ल्याउनु परेको उनले प्रष्ट पारे । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले हाल संचालनमा रहेको स्थानबाट अन्यत्र नसर्ने दाबी गरे । गुठी मातहत रहेको जग्गा हाल मणिपालले लिजमा लिएको भए पनि जग्गा प्राप्तिको प्रक्रिया प्रदेशले सुरु गरिसकेकोले प्रतिष्ठान अन्यत्र सर्ने कुनै सम्भावना नरहेको उल्लेख गरे । प्रदेश भित्रका सार्वजनिक, गुठीका जग्गा संविधानतः प्रदेश मातहतको नै रहेकोले मधेश प्रदेश सरकारद्वारा गठन गरिएको प्रतिष्ठान रहेको हालको जग्गा पनि स्वतः प्रदेश सरकारकै रहेको उनको कथन थियो ।

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रतिष्ठानले एक वर्ष भित्रमै गरेको कामकाज सराहनीय रहेको भन्दै यसको विकासको लागि प्रदेश सरकारले जस्तो सुकै सहयोग गर्न पछि नहट्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा मधेश प्रदेश अत्यन्त पछाडि परेको गुनासो गर्दै प्राविधिक शिक्षाको विकासको लागि प्रतिष्ठान कोशेढुंगा साबित हुने उनले बताए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले प्रतिष्ठान गठन भएदेखि हाल सम्म मधेश प्रदेश सरकारले गर्दै आएको सहयोगकै कारण यो अवस्थामा पुगेको र भविष्यमा यसको विकास हुँदै जानेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिष्ठानलाई मधेश प्रदेशकै गौरवशाली परियोजनाको संज्ञा दिँदै प्राविधिक शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठानले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा.अवधेश कुमार साह, प्रादेशिक अस्पताल जनकपुरधामका पूर्व मेडिकल सुपरिटेन्डेण्ड डा.विजय कुमार सिंह सहितकाले आ– आफ्नो धारणा व्यक्त गरेका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *