८ फाल्गुन २०७८
जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा पोषण सन्देश बोकेर गाउँगाउँमा पुगेकी छिन्। अघिल्ला वर्षहरुमा विभिन्न पोषण कोशेली लिएर गाउँमा पुगेकी उनी अहिले पोषण सन्देश बोकेर गाउँमा पुगेकी हुन्। उनले सुनौलो हजार दिनभित्रका आमासँग आमा तथा शिशु अवस्थामा ध्यान दिनु पर्ने पोषिलो खानेकुराका बारेमा सहजीकरण गर्छिन्।

उनीसंगै पोषण सहजकर्ता र स्वास्थ्यकर्मी समेत संगै गाउँ पुगेका छन्। उपाध्यक्ष बुढाले भनिन्,‘सुनौलो हजार दिन भित्रको समय निकै संवेदनशिल समय हो। यो समयमा पोषणको निकै आवश्यकता पर्छ। जबसम्म पोषिलो खानेकुरा दिइदैन, तबसम्म आमा र शिशुको स्वास्थ्य अवस्था मजबुद हुन सक्दैन। यो अवस्थामा विशेष ख्याल पुर्‍याउनुपर्छ।’

उपाध्यक्ष बुढाले स्थानीयतहको निर्वाचन भइसकेपछि पहिलो वर्ष शुद्ध खानेपानीका लागि फिल्टर बाड्ने कार्यक्रम लिएर घरदैलोमा पुगिन्। दोस्रो वर्ष अण्डा, तेल र साबुन लिएर पोषिलो खानेकुरा खान र सरसफाईका क्रियाकलापमा बढि केन्द्रीत हुन प्रेरित गरिन्। तेस्रो वर्ष पोषिलो कोशेली लिएर घरदैलोमै पुगिन्।

त्यो बेला उनले भनेकी थिइन्,‘सरकारले सधैँ दिन सक्दैन। अब आफैं पोषिलो आहार बनाउनु होला। आमा र बच्चाको पोषण अवस्था सुधारमा लाग्नु होला। जबसम्म कुनै पनि मानिस पोषित हुँदैन। तबसम्म कुनै पनि काम जाँगरिलो भएर गर्न सक्दैन।’

उनले स्थानीय स्तरमा उत्पादित बस्तुको जाउलो बनाएर प्रयोग गर्न समेत सुझाइन्। उपाध्यक्ष बुढाले भनिन्,‘संधै बाँडेर दिएर संभव हुँदैन। अब पोषिलो खानेकुरा खुवाउने सन्देश छर्नु पर्ने अवस्था आयो। त्यही सन्देश बोकेर गाउँगाउँमा पुग्ने गरेका छौँ।’

गत वर्ष सुनौलो हजार दिनभित्रका आमालाई पोषण सन्देश लेखिएको झोला सहित पोषण कोशेली दिइएको थियो। यो पटक गर्भवती तथा सुत्केरी आमालाई आफैंले पोषिलो खानेकुरा बनाउनको लागि सुझाउँदै आएका छौँ। अब यहाँका आमा र बच्चाको पोषण अवस्था सधार गर्न उनीहरुलाई जिम्मेवार बनाउनुपर्छ भन्ने ठान्यौँ। यो वर्ष सचेतना फैलाउन गाउँमै पुग्न थालेका छौँ। सुनौलो हजार दिन भित्रका महिलाको सन्दर्भमा यो वर्ष पोषण वर्षका रुपमा मनाउँदैछौँ।’

पोषण सन्देश छर्ने कार्यक्रम तिला गाउँपालिका वडा नम्बर १ रारागाउँ देखि यो शुरु भएको थियो। तिला ६ घोडेगाउँमा पुगेर सकिदैन। पोषण सन्देश संगै सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानु पर्ने,नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनु पर्ने, बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनको लागि हरेक आमा तयार हुनु पर्ने विषयमा गम्भीर हुन आग्रह गरिएको छ।

अहिले यहाँ समाजमा पोषणजन्य वस्तु बेचेर चाउचाउ विस्कुट जस्ता जङफुट किन्ने गरिन्छ। आलु बेचेर बजारमा पाइने सोयाबडी किनिन्छ। सिमी, फापर बेचेर मैदा किनेर रोटी बनाइन्छ। त्यही खाने कुरा आमा र बच्चालाई खुवाइन्छ, कसरी हाम्रा आमा र बच्चा पोषित हुन्छन्? उपाध्यक्ष बुढाले भनिन्,‘कुनैपनि बच्चा सुपोषित हुन यहाँको पोषिलो उत्पादनको प्रयोग हुन जरुरी छ।’

तिला १ देखि ९ वडा सम्मका २ सय ५० जना गर्भवती आमाहरू भएको पोषण सहजकर्ता जसुकला रावतले बताइन्। १ हजार १ सय ४४ जना सुनौलो हजार दिन भित्रका आमा रहेको छन्। गर्भवती आमा १ वडामा ३१, दुई मा २०, तिन मा ४०, चार मा ४५, पाँच मा २० छमा १६, सात मा २१, आठ मा २७ र ९ नम्बर वडामा ३० छन्। सुनौलो हजार दिन भित्रका आमा एक वडामा १ सय ४५, दुई मा १ सय ६७ तिन मा १ सय ६६ चार मा २ सय १ पाँच मा ७५ छ मा ८८ सात मा ८१ आठ मा ९६ र वडा नम्बर नौ मा ९५ जना रहेको पोषण सहजकर्ता जसुकला रावत बताउँछन्।

उनीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ। कुपोषणबाट आफू बच्न र बच्चालाई समेत बचाउनको लागि आग्रह गरिएको उनले बताइन्।स्वास्थ्यचौकी जुम्लाकोटका इन्चार्ज तथा स्वास्थ्यकर्मी बिराजु जिसीले सुनौलो हजार दिनभित्रका आमाले पोषणको महत्वका बारेमा निकै संवेदनशिल हुनुपर्ने बताए। ८० प्रतिशत दिमागको विकास २ वर्षभित्र हुन्छ। यो बेला पोषिलो आहारको आवश्यक पर्छ।

सुरक्षित स्तनतपानको जरुरत पर्छ। स्तनपान र पोषणबारे गर्भवती तथा सुत्केरी आमा जानकार हुनुपर्छ। उनले भने,‘पोषिलो खानेकुराका लागि अभिभावक पनि उत्तिकै जिम्मेवार हुन आवश्यक छ।’ आगामी कार्यक्रम सुनौलो हजार दिनभित्रका आमा र अभिभावकलाई संगै राखेर छलफल हुनु पर्नेमा जोड दिए।

स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डा जस्ता पोषिलो खानेकुराको प्रयोग गर्न सुझाव दिए। आमा र बच्चा सुपोषित हुनुपर्छ। कुपोषणको चक्र तोड्नु पर्छ। अनिमात्र हाम्रो गाउँवस्ती समाज स्वस्थकर बन्छ, उनले बताइन्। तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तगर्त हरेक वडामा सुनौलो हजार दिन भित्रका आमा संग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावत बताउँछिन्।

पहिले सुत्केरी हुँदा समेत गोठमै बस्ने चलन थियो। सामान्य खानेकुरा दिने, खानपान र आराममा ध्यान नदिने गरिन्थ्यो, पहिले भन्दा अहिले निकै सुधार भइसकेको छ, पोषण संयोजक रावतले थपिन्। अझै पनि सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य बारेमा निकै जिम्मेवार हुन आवश्यक छ। उनीहरु एक्लैले सबै काम गर्न सक्दैनन्। अभिभावक र छरछिमेकले समेत सघाउनुपर्छ।

पोषण अवस्था, पोषिलो खानेकुरा, पोषणको महत्व, स्तनपानका आसनबारे जानकारी दिनेदेखि गर्भवती र सुत्केरी आमाको अनुभव समेत समेटिने काम भएको छ। उपाध्यक्ष आफैं पुगेर पोषण र पोषिलो खानेकुराका बारेमा गाउँमा पुगेर सचेतना जगाउन थालेपछि स्थानीय महिला उत्साहित छन्। महिला स्वास्थ्य स्वयमसेविका गोइली बुढा जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकोले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकुल भएको बताइन्।

उनका अनुसार गाउँमा महिला स्वास्थ्य स्वयमसेविकाले नियमित गर्भजाँच, सुरक्षित सुत्केरी, आइरन चक्कीको प्रयोगदेखि पोषिलो खानेकुराका बारेमा बारम्बार अवगत गराउने गरिएको छ। तर यो पटक गाउँपालिका आफैं गाउँमा पुगेर सहजीकरण गर्न थालेपछि सहज बनेको अनुभव उनको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.