२०७८ फाल्गुन १०, मंगलवार
स्थानीय तहको निर्वाचन मिति तय भएसंगै धमाधम तयारी थालेको निर्वाचन कार्यालयले अघिल्लो निर्वाचन भन्दा जिल्लामा यसपटक ६० हजार ७ सय मतदाता थपिएको जनाएको छ ।

यसरी थपिएको मतदातामा महिलाको संख्या बढी रहेको देखिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार गत मंसिरदेखि चलाइएको मतदाता नामावली संकलन अभियानका क्रममा ३० हजार ४ सय २८ महिला र ३० हजार ३ सय ३७ पुरुष नयाँ मतदाता थपिएको हो । यो सँगै जिल्लामा २ लाख २१ हजार १ सय २५ पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रोलिंगी गरी कूल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको छ ।

यसमध्ये दोहोरो परेका मतदाताको नामावली घटाइने र बैशाख २९ सम्म मतदान गर्ने उमेर पुगेकालाई समावेश गरिने भएकाले मतदाता संख्यामा केही थपघट हुन सक्ने कार्यालय प्रमुख जोशीले स्पष्ट पारेका छन् । मतदाता नामावलीलाई व्यवस्थित गर्ने काममा खटिएका निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर उमेश कुमार यादवले निर्वाचनको तिथि घोषणा भए पछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन अभियान रोकिएको र अभियानबाट संकलित नामावलीको चेकजाँच र व्यवस्थित गर्ने काम धमाधम भइरहेको जानकारी दिए ।

उनले मतदाता सूचीमा नाम भएको तथा परिचयपत्र हराएको वा नष्ट भएको व्यक्तिलाई फागुन २० गतेभित्र वडाको सिफारिससहित व्यक्ति स्वयम् उपस्थित भइ जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनु पर्ने सूचना समेत जारी गरिसकिएको बताए । उनले फागुन १९देखि फागुन २६ सम्म मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको समय तालिका निर्धारण गरिएको जानकारी दिँदै समयमै सम्बन्धित मतदातालाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

मतदाता नामावली संकलन अभियानका क्रममा खटिएका कर्मचारीहरुमाथि जिल्लाको खडक नगरपालिका र छिन्नमस्ता गाउंपालिकामा केही स्थानीय व्यक्तिहरुद्वारा बिना प्रमाण नाम समावेश गर्न दवाव दिएको र नमानेपछि हातपात गरेको निर्वाचन कार्यालयका कर्मचारीहरुले गुनासो समेत पोखेका छन् । कर्मचारीहरुले भने, “हामीमाथी हातपात गर्नेहरुलाई प्रहरीले हालसम्म पक्राउ नगर्दा निकै दुखी भएका छौं ।”

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.