१० फाल्गुन २०७८
लगातार दुई वर्ष अदुवाले राम्रो मूल्य पाएपछि बडिकेदार गाउँपालिकाका किसान नगदेबालीका रूपमा रहेको अदुवा खेतीमा आकर्षित भए।

उनीहरूले सोचेभन्दा राम्रो मूल्य पाउन थालेपछि पुस्तौंदेखि गर्दै आएको मकै र कोदो खेती छोडेर अदुवा खेतीमा लागेका थिए। तर यसपालि उनीहरूले उत्पादन गरेको अदुवा किन्न व्यापारी नै आइदिएनन्। अदुवा खरिद गर्ने व्यापारी नआएपछि किसान क्विन्टलका क्विन्टल काँचो अदुवा सुकाएर सुठो बनाउन थालेका छन्।

जहिल्यै अदुवा खरिद गर्ने व्यापारी बारीसम्म पुगेर राम्रो मूल्य दिने गरे पनि यसपालि न त अदुवा व्यापारी पुगे न त स्थानीय व्यापारीले नै किनिदिए। कसैले अदुवा नकिनिदिँदा किसानले अदुवालाई सुठो बनाउन थालेका हुन्। अदुवा किन्ने व्यापारी नआएपछि केही किसानले अदुवा ननिकालेर बारीमै छोडेका छन् भने केही किसानले भने सुठो बनाउन थालेका हुन्।

आफूले साढे तीन रोपनीमा अदुवा लगाए पनि किन्ने व्यापारी नआउँदा स्थानीय एक किसानलाई सुठो बनाउन सस्तोमै बेचेको बडिकेदार गाउँपालिका–३, पातलका मीन घर्तीले बताए। उनले भने, ‘अघिल्लो वर्ष ४० क्विन्टल अदुवा फलाएर राम्रो आम्दानी भएपछि त्यसै होला भनेर यसपालि पनि लगाएँ, तर खरिद गर्ने मान्छे नै नआएपछि सुठो बनाउन स्थानीय एक किसानको जिम्मा लगाएँ।’

अदुवा सुकाएर सुठो बनाउँदा त्यसले मूल्य पनि बढी पाउने र ढिलोसम्म राख्न सकिने भएकाले यसो गर्दा पनि किसानलाई फाइदै हुने उनले बताए। ‘सुठो बनाउँदा किसानलाई फाइदै हुन्छ,’ उनले भने, ‘तर सुठो बनाउँदा पनि दिनभर त्यही काममा जुट्नुपर्ने हुँदा गाईबाख्रा चराउन र घरधन्दाको काम थाती हुने हुँदा सस्तोमै स्थानीय एक किसानलाई बेचें।’

पातलकै अर्का किसान प्रविण ताडीले पनि यसपालि व्यवसायिक रूपमा अदुवा खेती गरे। तर, यसैपालि भने अदुवा किन्ने व्यापारी नै नआउँदा उनीहरूले उचित मूल्य पाएनन्। ‘बाहिरबाट व्यापारी आउँदा उचित मूल्य पाइन्थ्यो,’ उनले भने, ‘यहीका व्यापारीलाई सस्तोमा बेच्नु मात्रै नभई जबरजस्ती किसानले भिडाउनुपर्ने बाध्यता छ।’ गत वर्ष ४२ रूपैयाँ केजीमा अदुवा बेचेको बताउँदै उनले थपे, ‘यसपालि त ३० रूपैयाँ केजीमा पनि कसैले किनिदिएनन्।’ ३० मा पनि कसैले नकिनेपछि स्थानीय किसान समेत रहेको एक व्यापारीलाई २८ रूपैयाँ केजीका दरले बेचेको उनले बताए। ‘बारीमा कुहिनुभन्दा त सस्तोमै भए पनि बेच्नु पर्‍यो,’ उनले भने, ‘व्यापारी नै नआउँदा यसपालि अदुवाले मूल्य पाएन।’

कसैले पनि अदुवा नकिनेको मौकाको छोपेर स्थानीय व्यापारीले पनि आफूखुसी मूल्य तोक्ने गरेको उनी बताउँछन्। ‘उत्पादित माल हाम्रो हो, त्यसको मूल्य निर्धारण गर्न पाउनुपर्ने हामीले हो,’ उनले भने, ‘तर कसैले नकिनेपछि स्थानीय व्यापारीलाई नै कतिमा किनिदिने भन्दै उनीहरूले चाहेको मूल्यमा बेच्नुपर्ने अवस्था छ।’

बाहिरबाट अदुवा किन्ने व्यापारी नआएपछि यहाँका किसान मिलेर आफूलाई अदुवा खरिद गरिदिन कर लगाएको स्थानीय किसान खडक कोटकेनी बताउँछन्। ‘यसपालि कसैले पनि अदुवा खरिद नगरिदिएपछि किसानले मेरै जिम्मा लगाए,’ उनले भने। ठूलो मात्रामा किसानको अदुवा खरिद गरेर बेच्न खोज्दा पनि कहीँ बिक्री नभएपछि सुठो बनाउन थालेको उनले बताए।

उनले भने, ‘किसानको अदुवा त किनें, तर बेच्न खोज्दा बजार नपाएपछि सुठो बनाउन थालेको छु।’ बडिकेदार गाउँपालिकाको घाङल क्षेत्रबाट मात्रै ५ सय क्विन्टल अदुवा खरिद गरेर सुठो बनाउन थालेको उनले बताए।

डोटीमा सबैभन्दा बढी अदुवा फल्ने बडिकेदारको लाना, बर्छैन, घाङल र मान्नाकापडी क्षेत्रमा अदुवा खेतीमा आकर्षित गर्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूले सहयोग गरे पनि अहिले फसलमा मूल्य निर्धारणका लागि कसैले पहल नगरेको उनीहरूको गुनासो छ। ‘अदुवा खेती गर्न संघ–संस्थाले लालायित पारे,’ बर्छैनका रोज कलेलले भने, ‘अहिले मूल्य घट्दा कसैले वास्ता गरेनन्।’ भारतमा अत्याधिक अदुवा फलेका कारण बजार सस्तिएसँगै यहाँको अदुवाको बजार प्रभावित बनेका कारण बाहिरबाट व्यापारी यहाँ नपुगेको उनको भनाइ छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *