२०७८ फाल्गुन १२, बिहीबार
प्रतिनिधि सभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने भएको छ ।
संसद् सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने उल्लेख छ ।
त्यस्तै, आजको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।यसैबीच, संसद् भवन आसपासमा बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप मजबुद बनाइएको छ । आजबस्ने प्रतिनिधिसभा बैठकको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार बेरिएको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।