२० फाल्गुन २०७८
बिहीबार बेलुकी अचानक ताप्लेजुङ जिल्ला अस्पतालको प्रसुति भवन प्रवेश गरेको भालुलाई सुरक्षित ढंगले बासस्थानमा फर्काउन दुईवटा विकल्प अघि सारिएको छ। अस्पतालका कर्मचारी र प्रहरीले मिलेर प्रसुति कक्षको एउटा खाली कोठामा थुनेको भालुलाई सुरक्षित तवरले बासस्थानमा फर्काउने पहिलो प्रयास स्वरुप शुक्रबार राति थुनिएको कोठा खोल्ने योजना बनेको छ।
‘सबै मानिसलाई माइकिङमार्फत् ढोका थुनेर घरभित्र सुरक्षित रहन आग्रह गर्ने र थुनिएको कोठाबाट भालुलाइ बासस्थानतर्फ फर्काउन प्रयास गरिने छ’ डिभिजन वन अधिकृत वीरेन्द्र शाहले भने। यदि यो प्रयास सम्भव नभएमा दोस्रो विकल्प स्वरुप वन्यजन्तुको क्षेत्रमा काम गर्ने विशेषज्ञ झिकाएर सुईमार्फत् भालुलाई लठ्याई सुरक्षित तवरले जंगलमा छाड्ने उपाय अवलम्बन गरिने शाहले जानकारी दिए।
दोस्रो विकल्प अवलम्बन गरिएमा त्यसका लागि कि त चितवन र कित काठमाडौँबाट विशेषज्ञ झिकाउनुपर्ने हुन्छ। डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सवडिभिजन कार्यालयमा वन्यजन्तु विशेषज्ञ नभएको अवस्थामा सम्वधित निकायबाट झिकाइ भालुलाई सुरक्षित ढंगले बासस्थानमा फर्काउन प्रयास गरिने डिभिजन वन अधिकृत शाहले बताए। उनले मानिसलाई अस्पताल क्षेत्रमा अनावश्यक भिडभाड नगरिदिन समेत आग्रह गरेका छन्।
मानिसको भिडभाड र कोलाहलले भालुलाई थप आक्रामक बनाउने भएकोले अत्यावश्यक काम बाहेक अस्पतालमा भिडभाड नगरिदिन डिभिजन वन कार्यालयले आग्रह गरेको छ। अस्पताल परिसर नजिकै सामान्य झाडी जंगल र त्यसभन्दा वरपर भने अलैंची तथा अन्य बोटबिरुवा सहितको जंगल क्षेत्र रहेको छ। बिहीबार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाई अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसुति कक्षको खाली कोठामा थुन्न सफल भएका थिए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।