२०७८ फागुन २७ गते
गत साता म आफैं पोल्याडको ‘मेडिका बोर्डर’ पुगें । युक्रेनबाट धेरै नेपाली पोल्याण्ड छिर्नुभएको छ । म बोर्डरसम्म पुगे पनि युक्रेनतर्फ जान भने सकिनँ । तर जे–जति गर्न सकिन्थ्यो वारिबाट नै काम गरियो । बोर्डरमा लामो समयदेखि अड्किएका १५ जना नेपालीलाई बाहिर निकाल्ने काम भयो । प्रत्यक्ष त्यहाँ पुग्दा बोर्डर प्रहरीसँग समन्वय गर्न सजिलो भयो ।

समस्यामा परेका र उद्धारका लागि भन्दै सामाजिक संजालमा अपील गरिरहनुभएका भाइहरूको पनि उद्धार भयो । मानसिक रूपमा धेरै तनाव भएकाले मैले उहाँहरूमा त्रासको अनुभव भएको पाएँ । यदि समन्वय नहुने हो भने लामो समयसम्म उहाँहरू त्यहीं अड्किने अवस्था पनि हुनसक्ने रहेछ । नेपाली हुन् भनेर भेरीफाई गर्दै डकुमेन्टहरूमा मैले साइन गरेपछि सक्दो छिटो उद्धार भयो ।

दुई वटा केसहरू यस्ता पनि थिए । एउटा, श्रीमती भित्र (युक्रेनतर्फ) तर श्रीमान् बाहिर (पोल्याण्ड साइडमा) हुनुहुँदोरहेछ । र फेरि अर्को चाहिं श्रीमती पोल्याण्ड वार्सा आइपुग्नुभएको तर श्रीमान् चाहिं युक्रेन साइडमा नै अड्किनुभएको थियो ।

सायद समस्या समाधान भएपछि उहाँहरू सबै भेट हुनुभयो यो एउटा पक्ष रह्यो । अर्कोतर्फ राजदूतावासको प्रत्यक्ष सक्रियताले एनआरएनए पोल्याण्ड र नेपाली समुदायलाई पनि काम गर्न मोरल सपोर्ट भएको महसुस गरेको छु ।

अर्को पक्ष युक्रेनका लागि लड्न चाहन्छु । पासपोर्ट बनाइदिनुहोस् भन्ने आग्रह पनि दूतावासमा आएको थियो । लड्ने प्रयोजनका लागि भने हामीले पासपोर्ट बनाइदिन्नौं । अर्को एक नेपाली मूलको युक्रेनी नागरिक म यहाँबाट निस्कन खोजेको तर मलाई उमेर समूहको कारणले बाहिर जान दिएन भन्दै सम्पर्क गर्नुभएको थियो । एउटा चिठ्ठी लेख्नका लागि अनुरोध आएको थियो । तर विदेशी नागरिक भइसकेको र त्यो मुलुकको नीति नियमलाई मान्नुपर्ने थियो । त्यसैले पहिलो कुरा, हामीले चिठी दिएर पनि त्यसको अर्थ थिएन र दोस्रो कुरा हामी दिंदैनौ पनि ।

दुई वटा क्याम्पमा मैले भिजिट गरें । एनआरएनए पोल्याण्डले अपार्टमेन्ट नै लिएर नेपालीलाई बस्ने व्यवस्था गरेको थियो । त्यहाँ पनि नेपालीको समूहसँग भेट भयो । उहाँहरूको भोगाइ र समस्या सुनियो । जति सक्दो छिटो आफ्नो गन्तव्यतर्फ नै लाग्न उहाँहरू व्यस्त हुनुहुन्थ्यो । केही बेर बस्ने, आफन्तसँग सम्पर्क गर्ने र फुत्त–फुत्त निस्कने गरेको पनि देखियो । आ–आफ्नो गन्तव्यमा जान लाग्नुभएकाहरूले धेरै कुरा भन्न चाहनुभएन । दुई जना भाइहरूसँग कुरा गर्दा फ्रान्सको आर्मीमा जाने पनि भन्दै हुनुहुन्थ्यो ।

यसको अर्थ उहाँहरूको उद्देश्य पहिलेदेखि नै युरोप आउने थियो । कतिपय विद्यार्थी उच्च शिक्षा हासिल गर्न नै आउनुभएको हो । तर त्यो बाहेक ठूलो संख्यामा विद्यार्थी कलेज, युनिभर्सिटी भर्ना चाहिं हुने तर उद्देश्य चाहिं विस्तारै विस्तारै युरोपका देशहरूमा छिर्ने उद्देश्य बोकेर आएको भेटियो ।

त्यो उद्देश्य भएका साथीहरू नेपाल फर्कने कुरा भएन । अहिलेको अवस्थाले ती उद्देश्य राख्नेहरूलाई झन् सहज भएको छ । एनआरएनए पोल्याण्डसँग अन्तरक्रिया गर्दा पनि मैले ठूलो संख्याले त्यही उद्देश्य राखेको थाहा पाएँ । हामीले उद्धार गर्ने हो । त्यो काम लगभग ९५ प्रतिशत सकिएको छ ।

युक्रेनबाट आउनुभएका साथीहरूलाई नेपाल फर्कने वातावरणका लागि हामी काम गरिरहेका छौं । तर उहाँहरू त्यो अवसरको उपयोग गर्न खोजिरहनुभएको छैन । युक्रेनबाट आउनुभएका दाजुभाइहरू उहाँहरूको उद्देश्य यतै बस्ने रहेको देखिन्छ । ईयूका सबै सदस्य राष्ट्रहरूले अहिलेसम्म युक्रेन बाहेक अन्य नागरिकलाई सुविधा नरहने भनिएको तर युक्रेनमा पीआर भएको अथवा लिगल स्टाटस भएर बसेको मान्छेले त्यो सुविधा पाउने भनेका छन् । त्यो सुविधा एउटा अवसर पनि भएकाले सायद उहाँहरूले त्यस्तो विचार राख्नुभएको होला ।

तर, नेपाल सरकारले ‘रिपार्टेसन’ का लागि प्रयत्न गरिरहेको छ । दूतावासको तर्फबाट परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार त्यसका लागि हामी तयार छौं । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नै दूतावासमा सम्पर्क राख्न भनिसकेको छ । तर उहाँहरू तयार नभएको कुरा साँचो हो । कतिपयले धेरै खर्च गरेर आइएको छ तत्काल फर्केर जाँदा आर्थिक संकट पर्न सक्छ भनेर त्यो निर्णय लिएको पनि हुनसक्छ । समग्रमा यहाँ आइपुगेका धेरैको घर फर्कने रुचि छैन ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *