२०७८ चैत्र ९, बुधबार
समलिंगी र तेस्रोलिंगी लगायतका विभेदमा परेकाहरु राजनीति रुपमा शसक्त नभएसम्म विभेद जारी रहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

जनकपुरधाममा मंगलबार युएसएडको सहयोगमा नील हिरा समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले लैंगिक विभेदमा परेकाहरुलाई राजनीतिक मूलधारमा नल्याए सम्म समलिंगी र तेस्रोलिंगीहरु समाजमा सधैं अपहेलित नै रहने धारणा राखे ।

कार्यक्रममा बोल्दै हंसपुर नगरपालिकाका उपमेयर रेणु झाले कुनै कार्यक्रमको आयोजना गर्दा महिला र पुरुषहरुलाई मात्रै सम्बोधन गरेर लैंगिक विभेदमा परेकाहरुलाई बिर्सिएर गल्ती गरेको स्वीकार गर्दै भनिन,‘गोष्ठी ,तालिम सभा सम्मेलनमा अब उनीहरुलाई पनि सम्बोधन गर्न सक्नु पर्छ जसले गर्दा विस्तारै यिनीहरु पनि समाजमा समाहित हुँदै जाने छन् ।’

कार्यक्रममा प्रदेश साँसद रानी शर्मा तिवारीले महिला पुरुषमा विभेद कायम रहेको मुलुकमा लैंगिक अल्पसंख्यक विभेदमा पर्नु स्वाभाविक भए पनि स्थापित भएको कानून कार्यान्वयनमा जोड दिन सकिए विस्तारै विभेदहरुको अन्त्य हुँदै जाने विश्वास व्यक्त गरिन् ।

विश्वमै हाम्रो मुलुक कानून बनाउन उत्कृष्ट रहे पनि कार्यान्वयन पक्ष भने अत्यन्त फितलो रहनु नै विभेदको मुख्य कारण रहेकोले समलिंगी र तेस्रोलिंगीहरुले अधिकारको लागि संघर्ष जारी राख्नुपर्ने आवश्यकता औंल्याइन् । प्रदेश साँसद शारदा थापाले स्थानीय निकायको आसन्न निर्वाचनमा दलहरुले समलिंगी /तेस्रोलिंगीहरुको पनि सहभागिता हुने गरी योजना ल्याउनु पर्नेमा जोड दिइन् ।

विभेदमा परेकाहरुले सकारात्मक आन्दोलन कायम राख्नु पर्ने आवश्यकता औंल्याउँदै उनले भनिन,‘समलिंगी÷तेस्रोलिंगी मैत्री अस्पताल,विद्यालय लगायतको हरेक स्थानमा यीनीहरुको लागि मैत्रीपूर्ण व्यवस्थापनले विस्तारै विभेद न्यूनीकरण हुँदैजानेछ भन्ने मेरो विश्वास छ ।’ साँसद जैलुन राइनले संविधानमै स्थापित भइसकेको अधिकारको लागि पनि संघर्ष गर्नु पर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको बताउंदै कुनै पनि परिवर्तनको लागि राजनीतिक मूलधारमा समावेशीकरण आवश्यक रहेकोले समलिंगी र तेस्रोलिंगीहरुको अधिकारको लागि दलहरु गंभीर हुन जरुरी रहेको बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *