२०७९ बैशाख ११, आईतवार
वीरगञ्ज । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारीमा महिलाहरुले संविधान अनुसार पाउनु अधिकार समेत नपाएको भन्दै पर्साको वीरगञ्नमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार महिलाहरुले संविधानप्रदत हकलाई जालझेलपूर्ण तरिकाले खोसिएको भन्दै महिला नेताहरुले वीरगञ्जमा विरोध प्रदर्शन गरेका हुन् । वीरगन्ज महानगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको तालमेलले स्थानीय तह प्रमुख वा उपप्रमुखमध्ये एक जना अनिवार्य महिला नै हुनुपर्ने स्थापित भइसकेको अभ्यासलाई समेत विस्थापित गर्नु दुर्भाग्यपूर्ण रहेको आन्दोलित महिलाहरुको ठहर छ ।

वडा सदस्य पद बाहेक स्थानीय तहको निर्वाचनमा महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाइएको भन्दै वीरगन्जमा विरोध प्रदर्शन भएको हो । विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेता तथा र कार्यकर्ताहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । घण्टाघरबाट सुरु भएको सो विरोध जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै पूनः घण्टाघर चोकमैं आइ कोणसभामा परिणत भएको थियो ।

सो विरोध प्रदर्शनको क्रममा सहभागीहरूले महिलाको सहभागिता सुनिश्चित गर, गठबन्धनको नाममा संविधान मिच्न पाइँदैन, गठबन्धनको नाममा महिलाको अधिकार खोस्न पाईँदैन लगायतका चर्को नाराबाजी गरेका थिए । ‘महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाउँदा यसले संविधानप्रदत महिलाको हक अधिकार मिचिएको छ,’ कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेतृत्व डा. सुष्मा द्विवेदीले भनिन्, ‘चुनावी गठबन्धनमा मेयर र उपमेयर दुबै पदमा पुरुष उम्मेदवारको नाम अगाडि सारिएकोले महिलामाथि अन्याय भइरहेको छ।’ मेयरको टिकट नपाउने भएपछि उपमेयरमा भएपनि पुरुष नेताहरु आफ्नो नाम पठाउन तछारमछार गरेको दुखेसो उनको छ ।

महिलाहरुको हक अधिकारको लागि मञ्चहरुमा ठूलाठूला भाषण दिने पुरुषहरु नत घरको महिलालाई अवसर दिन्छन् नत घर बाहिरको महिलाको ३३ प्रतिशत सहभागी सुनिश्चितता समाप्त गर्ने नेताहरुबाट कुनै आशा नरहेको महिलाहरुको टिप्पणी रहेको छ । महिला प्रतिनिधित्व पालिकाको प्रमुख वा उपप्रमुख तथा वडा अध्यक्ष तथा सदस्यमा हुनुपर्दछ भन्ने माग राख्दै दबाब दिन प्रदर्शनमा उत्रिनु परेको लोकतान्त्रिक समाजवादी पार्टी की नेता रम्भा मिश्राले बताइन् ।

पर्साका पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाई उम्मेदवार नबनाउने चलखेल गरिरहेको महिला नेताहरुले दाबी गरे ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.