२०७९ वैशाख १४ गते
नेपाली कांग्रेसको राजविराज नगर समितिका सहसचिव सुनिल परियारले नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
सुरुदेखि नै वडानम्बर ८ को अध्यक्ष पदका आकांक्षी रहेका परियारलाई अन्तिम समयमा टिकट नदिएपछि उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् ।
‘सुरुदेखि नै तयारी गरेका थियौं, नेताहरुले पनि टिकट दिने बताइसकेका थिए,’ उनले भने, ‘तर अन्तिम समयमा टिकट नदिएपछि महिनौंदेखि गरिएको तयारीलाई पूर्णरुप दिन अर्को पार्टीबाट उम्मेदवार भएँ ।’ उनले अन्तिम समयमा आएर पार्टीका नेताले नवआगन्तुकलाई टिकट दिएको बताए ।
नेतृत्वले वडा नम्बर ८ मा टिकट वितरणमा मनोमानी गरेको भन्दै कांग्रेसका वडा सभापति मनोज दासले राजीनामा समेत दिएका छन् ।
‘वडामा क्रियाशील भएर काम गर्दै आएका कार्यकर्तालाई पाखा लगाएर अन्यलाई टिकट दिइएपछि राजीनामा दिएको हुँ’ उनले भने, ‘बुथ समितिको कुनै निर्णय नै लागू हुन नदिने, सधैं निरुत्साहित मात्रै गरिरहने भएपछि पार्टीमा बस्न मन लागेन ।’

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।