१६ वैशाख २०७९
आसन्न स्थानीयतह निर्वाचनमा बिपक्षी दलभन्दा पनि बिद्रोही उम्मेदवारका कारण नेताहरु हैरान भएका छन्। पार्टीइतर उम्मेदवारले हराउने नहराउने भन्ने कुरा परै राखेर त्यसभन्दा बढी चिन्ता आफ्नै पार्टीभित्रबाटै परेको ‘बागी’ उम्मेदवारी नेताहरुका लागि टाउको दुखाईको विषय बन्न पुगेको हो।

उदयपुरका ४ नगरपालिका र ४ गाउँ गरी ८ वटा स्थानीयतह सबैमा बिद्रोही उम्मेदवारी परेको छ। कटारी नगरपालिकामा नेकपा (एमाले) र गठबन्धन दुवै तर्फबाट बागी उमेदवारी परेको छ। बागी उम्मेदवारले गठबन्धनलाई पनि अप्ठेरो पारेको छ भने एकल चुनाव लड्ने उद्घोष गरेको एमालेलाई झन् असहज बनाएको छ।

कटारीमा एमालेबाट निवर्तमान उपमेयर भीमकुमारी राउतले मेयरमा बागी हालेकी छिन् भने गठबन्धनतर्फबाट नेकपा (माओबादी केन्द्र)का केपी बरालले बागी दिएका छन्। त्यहाँ गठबन्धनबाट काँग्रेसका राजेशचन्द्र श्रेष्ठ र माओबादीबाट बिनोद कटुवाल क्रमशः मेयर र उपमेयरको उम्मेदवार भएका छन्। एमालेले निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ र गीता खड्कालाई मेयर र उपमेयरमा उठाएको छ।

यता चौदण्डीगढी नगरपालिकामा काँग्रेसका प्रशान्त राईले मेयरमा बागी हालेका छन् भने माओबादीको तर्फबाट कमलध्वज राईले स्वतन्त्रमा मेयरको उम्मेदवारी दिएका छन्। गठबन्धन दलहरुबीच कुरा नमिलेपछि एक्लाएक्लै लड्ने निर्णय भएको चौदण्डीगढीमा काँग्रेसबाट निवर्तमान मेयर खगेन्द्र राई र उपमेयर रीताकुमारी चौधरीलाई नै पार्टीले उम्मेदवार बनाएको छ।

अर्को बेलका नगरपालिकामा एमाले र माकेबाट बागीमा उम्मेदवारी परेको छ। एमालेबाट यसअघिकै मेयर दुर्गाकुमार थापाविरुद्ध जिल्ला कमिटी सदस्य कृष्ण काफ्ले र उपेम्द्र बिष्टको बागी परेको हो। त्यस्तै माओबादीबाट उपमेयरमा बुङ्मासरी राईले बागी हालेकी छिन्। गठबन्धनबाट काँग्रेसका अशोक कार्की र माओबादीका मनोज तामाङले मेयर र उपमेयरमा उम्मेदवारी दिएका छन्। कार्की गत चुनावमा निकटतम प्रतिद्वन्द्वी हुन् भने तामाङ ४ नं. वडाध्यक्षका पराजित उम्मेदवार हुन्।

उता उदयपुरगढी गाउँपालिकाका एमाले उम्मेदवारविरुद्ध दुईजनाको बागी परेको छ। एमालेले अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमाम शोभा मगरलाई उठाएको छ। एमालेबाट बसन्त पौडेल र चन्द्रबहादुर गुरुङले अध्यक्षमा बागी हालेका छन्। गठबन्धनका तर्फबाट भने एकीकृत समाजबादीकै नेता निवर्तमान अध्यक्ष मानबहादुर केप्छाकी मगर अध्यक्ष र काँग्रेसका जीतबहादुर खड्काको उपाध्यक्षमा उम्मेदवारी परेको छ। खड्का अघिल्लो चुनावमा अध्यक्षमा पराजित हुन्। गठबन्धनबाट खड्काको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै काँग्रेसका तिलक खपाङ्गी मगरले उपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन्।

उता ताप्ली गाउँँपालिकामा गठबन्धनविरुद्ध काँग्रेसका एकजनाले बागी हालेका छन्। गठबन्धनबाट माओबादीका ढुंगराज विक अध्यक्षमा र काँग्रेसबाट धना मगर उपाध्यक्षको उम्मेदवार बन्दा महादेव रास्कोटीले काँग्रेसबाट उपाध्यक्षमा बागी हालेका हुन्। एमालेबाट बाबुराम राई र मानकुमारी थापाले ताप्लीमा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

त्यसैगरी रौतामाई गाउँपालिकामा उपाध्यक्षमा काँग्रेसबाट बागीमा उम्मेदवारी परेको छ। गठबन्धनबाट माओबादीका वीरेन्द्र मगर अध्यक्ष र काँग्रेसका भुपेन्द्र थापा उपाध्यक्षको उम्मेदवार बन्दा काँग्रेसकै कौशल राईले उपाध्यक्षमा बागी हालेका हुन्। मगर गत चुनावमा निकटतम प्रतिद्वन्द्वी हुँदा थापा काँग्रेसबाटै अध्यक्षमा पराजित हुन्। एमालेले रौतामाईमा भरत थापालाई अध्यक्षमा र यसअघिकै उपाध्यक्ष कुमारी राना ज्युठकुरीलाई उपाध्यक्षको टिकट दिएको छ।

त्रियुगा नगरपालिकामा भने बागी उम्मेदवारी परेको छैन। त्रियुगामा गठबन्धनबाट नेकपा (एकीकृत समाजबादी)को तर्फबाट निवर्तमान मेयर बलदेव चौधरी र उपमेयरमा माओबादीकी गीता खड्काको मेयर र उपमेयरमा उम्मेदवारी परेको छ। गठबन्ध्नबीच कुरा नमिलेपछि काँग्रेस एक्लै चुनाव लड्ने सहमति अनुसार मेयरमा बसन्त बस्नेत र उपमेयरमा सरिता राईले उम्मेदवारी दिएका छन्।

उता लिमचुङब्ङ गाउँपालिकामा माओबादीका होमबहादुर राईले गठबन्धनबाट अध्यक्षमा बागी दिएका छन् भने काँग्रेसकी रमिला राईले उपाध्यक्षमा बागी दिएकी छिन्। उनी यसअघिको चुनावमा सिंगो लिमचुङबुङमा काँग्रेसबाट उपाध्यक्ष मात्र जितेकी हुन्। त्यहाँ गठबन्धनबाट माओबादीका मेजरकुमार राई र काँग्रेसका पुष्पलाल राई अध्यक्ष र उपाध्यक्ष उम्मेदवार भएका छन्। अध्यक्षका उम्मेदवार राई निवर्तमान अध्यक्ष हुन् भने उपाध्यक्षका उम्मेदवार राई गत चुनावमा पराजित अध्यक्षका उम्मेदवार हुन्।

लिमचुङब्ुङमा एमालेबाट पनि दुईजनाले बागी हालेका छन्। एमालेका यादवकुमार राई र अघिल्लो चुनावमा निकटतम प्रतिद्वन्द्वी भलराज राईले पार्टी निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै बागी हालेका हुन्। यादव सेवा निबृत्त शिक्षक तथा पुराना एमाले नेता हुन् भने भलराज पार्टी गाउँ अध्यक्ष तथा जिल्ला कमिटी सदस्यसमेत हुन्। त्यहाँ एमालेले पार्टी गाउँ कमिटी सचिव राजकुमार राईलाई अध्यक्ष र देबकुमारी कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

प्रमुख उपप्रमुखबाहेक वडाध्यक्ष र सदस्यसम्ममा बग्रेल्ती बागी उम्मेदवारी परेपछि नेताहरुलाई व्यवस्थापन गर्न कठिनाई परिरहेको छ। पार्टी निर्णयविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता गराउन अहिले नेताहरु हस्याङफस्याङ गर्दै लागिरहेका छन्। निर्वाचन कार्यतालिका अनुसार शुक्रबार विहान १० देखि ५ बजेभित्र उमेदवारी फिर्ता लिने समय तोकिएको छ। मुख्य निर्वाचन अधिकृत दिपक खनालले सो अवधिभित्र उम्मेदवारी फिर्ता नलिए ५ः३० मा अन्तिम नामावली प्रकाशन हुने बताएका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.