१६ वैशाख २०७९
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारलाई अघि सारेको छ।

गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन्। दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार प्रमुखमा दावी गरेका मध्ये दुईजनाको उम्मेदवारी भने रद्द भएको छ। यसरी उम्मेदवारी रद्द हुनेमा नेपाली काँग्रेसका भक्तबहादुर थापा र नेकपा माओवादी केन्द्रका धिरेन्द्र रावल रहेका छन्। उनीहरु दुवैजनालाई पार्टीले आधिकारिक नरहेको जानकारी दिएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए।

प्रमुखमा उम्मेदवारी दर्ता गरेका मध्ये नेकपा माओवादी केन्द्रका लोकराज ढकाल र नेकपा एकिकृत समाजवादीका बखतबहादुर बिष्टको उम्मेदवारी समेत फिर्ताको तयारीमा रहेको छ। बिष्टले पार्टीको निर्देशन अनुसार नै आफूले उम्मेदवारी फिर्ता गर्ने बताए।

नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज लालबहादुर कुमालले ढकालको उम्मेदवारी फिर्ता गरेर गठनबन्धनको सहमति अनुसार अघि बढ्ने जानकारी दिए। उनले आफ्नो पार्टीको तर्फबाट उपप्रमुखमा उम्मेदवार रहने बताए।

नेपाली काँग्रेस लम्कीचुहा नगर समितिका सभापति इन्द्र कुँवरले गठनबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार रहने बताए।

गठबन्धनले प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवारअघि सारेपछि सकारात्मक र नकारात्मक दुवैखाले चर्चा भैरहेका छन्। कतिपयले दुवै पदमा महिलाको उम्मेदवारीलाई राम्रो भनेका छन् भने कतिपयले महिलाले नगरपालिका हाक्ने कुरामा आशंका व्यक्त गर्ने गरेका छन्।

प्रमुखका दावेदार शाहीले महिला भएकै कारण आफूहरुको क्षमता माथि शंका नगर्न आग्रह गरेकी छन्। उनले उत्कृष्ठ नगरपालिका बनाएर देखाउने दावी गरिन्।

उनले आफ्ना जित्ने आधारमा पनि प्रशस्त रहेको बताइन्। उनी विगत १४ वर्षदेखि दर्जन बढी संघसंस्थाको नेतृत्व गर्दै आएकी छन्। ‘मैले नेतृत्व गरेका संघसंस्था उदाहरणीय छन्,’ उनले भनिन्, ‘म काम गर्ने कुरामा कमजोर छैन।’

त्यस्तै उपप्रमुखकी दावेदार सिँहले प्रतिगमनको विरुद्धमा तयार भएको गठबन्धनले जित प्राप्त हुने बताइन्। उनले समेत महिला भएकै कारण कमजोर नठान्न आग्रह गरिन्। उनले आफूहरुको क्षमता माथि उठेको प्रश्नको जवाफ काम गरेर देखाउने बताइन्। ‘कसले के भन्छ भन्ने कुरा गौण हो,’ उनले भनिन्, ‘जितेर गएपछि काम गरेर देखाउने हो।’

गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार अघि सारेर महिलाको अधिकार हनन गरेको आरोप लागिरहेको बेला लम्कीचुहाको नेतृत्वमा दुवैजना महिलालाई अघि सार्ने कुराले गठनबन्धनको प्रशंसा भैरहेको छ।

कैलालीको पूर्वी क्षेत्रमा अवस्थित यस नगरपालिकामा ५४ हजारको हाराहारीमा मतदाता रहेका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *