२८ साउन २०८२रौतहट /

चन्दन कूमार महतो

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा मातृ-शिशु स्वास्थ्य
(एमसिएच) क्लिनिक र चमेना गृहको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास बढाउन आवश्यक रहेको उल्लेख गर्दै न्यूनतम खर्चमा गुणस्तरयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए। साथै, गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

उनले गैरकानुनी रूपमा सञ्चालित केही निजी अस्पताललाई अनुगमनमार्फत बन्द गराइएको र अझै धेरैले मापदण्ड पूरा नगरेको जानकारी दिए।

सो अवसरमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले संघीयता अघि र पछि अस्पताल सेवामा आएको सुधारबारे प्रकाश पार्दै प्रदेश सरकार ‘स्वास्थ्य मधेश’ निर्माणको लक्ष्यका साथ काम गरिरहेको बताए। स्वास्थ्य सचिव डा. प्रमोद यादवले प्रादेशिक अस्पतालहरू सुधारको नमुना बन्दै गएको र मन्त्रालयले सबै अस्पतालको समान रूपमा विकासमा ध्यान दिइरहेको जानकारी दिए।

त्यसैगरी, प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले आवश्यक औषधि पर्याप्त मात्रामा उपलब्ध नहुँदा अस्पताल सेवा प्रभावित भएको बताए।

कार्यक्रममा मुख्यमन्त्री सिंहसहित स्वास्थ्य मन्त्री सिंह, स्वास्थ्य सचिव डा. यादव, जिल्ला समन्वय समिति को सभापति रामअयोध्या राय यादव, प्रदेश सभा सदस्य जयचन्द्र पटेल, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक कुमार राय, नेकपा एमालेका केन्द्रीय सदस्य तथा गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय कुमार गुप्ता, प्रादेशिक अस्पताल गौरका अध्यक्ष मो. अनवर हाशमी, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, लेखापाल जितेन्द्र यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमसैद, अस्पतालका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here