रौतहटको राजपुर नगरपालिकामा आयोजित पालिकास्तरीय किशोरी मेयर कप क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इस्लामिक रिलिफ क्यानडा, इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र (RDC) नेपालको सहकार्यमा, राजपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको हो।
प्रतियोगिताको फाइनल खेल वडा नम्बर ६ कुडिया र वडा नम्बर १ बीच भएको थियो। टस जितेर वडा नम्बर ६ ले पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ८३ रन बनाएको थियो।
८४ रनको लक्ष्य पछ्याएको वडा नम्बर १ ले १० ओभरमा ८ विकेट गुमाउँदै ६४ रन मात्र बनाउन सक्यो। यससँगै वडा नम्बर ६ ले १९ रनले शानदार जित हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो।
कार्यक्रममा राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजिक आलमले विजेता तथा उपविजेता दुवै टिमलाई बधाई दिँदै खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्नुभयो। उहाँले दुबै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको उल्लेख गर्नुभयो।
त्यसैगरी ग्रामीण विकास केन्द्र (RDC) नेपालकी उपाध्यक्ष #ममता_झाले पनि खेलाडीहरूको उत्साहजनक प्रदर्शनको सराहना गर्दै विजेता तथा उपविजेता टिमलाई बधाई दिनुभयो।
कार्यक्रममा उप प्रमुख, वडा नम्बर १ का वडा अध्यक्ष, वडा नम्बर ६ का वडा अध्यक्ष, सशस्त्र प्रहरीका निरीक्षक लगायत विभिन्न जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। साथै ग्रामीण विकास केन्द्र (RDC) का पदाधिकारीहरू, इस्लामिक रिलिफ क्यानाडाका प्रतिनिधिहरू तथा इस्लामिक रिलिफ नेपालका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।
किशोरीहरूबीच खेलकुदको विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय स्तरमा उत्साह थपेको आयोजकले जनाएको छ।










