रौतहट, साउन ११ — चन्दन कूमार महतो ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. २ पिपरा भलोहियामा नवस्थापित श्री सरस्वती बहुमुखी क्याम्पसको उद्घाटन समारोह आज एक विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नगर अध्यक्ष श्री शम्भू कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा. डा. दिपक शाक्य रहनु भएका थिए। साथै विशिष्ट अतिथिको रूपमा संघीय सांसद डा. शिला मिश्रा, शिक्षा आयोगका पूर्व अध्यक्ष देवेन्द्र झा, विश्वविद्यालयका डिन प्रा. डा. अन्जय मिश्र, सह–परीक्षा नियन्त्रक सहायक प्रा. डा. घनश्याम ठाकुर, दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तव, वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्री शम्भू कुमार सिंहले भन्नुभयो, “शिक्षा विकासकै मेरुदण्ड हो। यस क्याम्पसको स्थापना दुर्गा भगवती गाउँपालिका मात्र नभई सम्पूर्ण रौतहट जिल्लाको शैक्षिक उन्नयनको लागि एक ऐतिहासिक कदम हो। आगामी दिनमा क्याम्पसलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउन आवश्यक सबै सहयोग गरिनेछ।”
कार्यक्रममा विभिन्न अतिथिहरूले पनि शिक्षा, अनुसन्धान र ग्रामीण क्षेत्रको शैक्षिक पहुँचका सम्बन्धमा मन्तव्य व्यक्त गर्दै क्याम्पसको सफलताको शुभकामना व्यक्त गरेका थिए।















