भारतमा कक्रोच जनता पार्टीको आह्वानमा भइरहेको युवाहरूको आन्दोलन चर्किएको छ । प्रश्नपत्र लिक भएको घटनालाई जोडेर सु्रु भएको आन्दोलनमा भारतको ठूलो नागरिक तप्का समेत यसको समर्थनमा उभिएको छ । आन्दोलनले नरेन्द्र मोदीको सत्तालाई थकाउन थालेको छ ।
५ मे, २०२४ मा भारतमा नीट परीक्षाकै दिन सामाजिक सञ्जालमा प्रश्नपत्रहरू बाहिरिएको समाचार आयो । नेशनल टेस्टिङ एजेन्सी (एनटीए) ले पेपर लिक भएको कुरा अस्वीकार गर्यो । तर ग्रेस अंक, अनियमितता र पेपर लिकका विवादहरूले विद्यार्थीका प्रतिरोधलाई थिचिराख्न भने सकेन । दिल्ली, हैदरावाद जस्ता ठाउँहरूमा विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन जारी राखे ।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरे । पछि गएर यो विषय सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले सुधारका सिफारिसहरू राख्यो । यसमा परिक्षाको डिजीटाईजेशन, एनटीएको पुनर्संरचना, मोनिटरिंग मेकानिज्म जस्ता कुराहरू समावेश गरिएका थिए ।परिणामस्वरूप मे १२ मा सरकारले परीक्षा रद्द गरिएको कुरा बतायो । सरकारको आलोचना हुनु त सामान्य प्रतिक्रिया मात्र पनि हुन सक्छ – यसपटक भने दु:खद र गम्भीर घटनाहरू पनि घटे । ११ जना परीक्षार्थीहरूले आत्महत्या गरे । अन्य विद्यार्थीहरूको वर्षौको मिहिनेत खेर गयो । मानसिक स्वास्थ्यमा असर पर्न गयो ।
यतिबेलासम्म कक्रोच जनता पार्टी डीजिटल संसारमा मात्र सीमित थियो । सर्वोच्च अदालतका प्रधानन्यायधीशले युवाहरूलाई निष्क्रिय बस्ने कक्रोचसँग तुलना गरेपछि त्यसको व्यङ्गात्मक प्रत्युत्तरको रूपमा अभिजित दीपकेले कक्रोच जनता पार्टी ( सीजेपी ) को स्थापना गरेका थिए ।युवाहरूको निराशा र आक्रोशलाई एकीकृत रुप दिन पुगेको सीजेपी सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय बन्न पुगेको थियो ।

विपक्षी राजनीतिक दल, इन्फ्लुएन्सर, मिडिया पर्शनालिटी आदिबाट स्वागत र प्रशंसा बटुलेको थियो । सामाजिक सञ्जालमा मात्र उदाउने र वास्तविक राजनीतिक भूमिमा पदार्पण नगर्ने यस्ता डिजिटल प्रतिरोधी आवाजहरू संसारभरि नै क्षणभरमै प्रशस्त छन् । सीजेपी पनि त्यस्तै क्षणिक आवाजहरूमा सूचीकृत हुन सक्ने लख पनि काटिन थालेका थिए ।
तर, यही समयमा नीटको पेपर लिक ज्वलन्त विकृति बनेर दोहोरिएको थियो । यसैबेला सीजेपीका अकाउन्टहरू बन्द गरिने प्रयास हुँदै थियो । सामाजिक सञ्जालमा मात्र सीमित बनेको प्रतिरोधी आवाजहरूलाई आन्दोलनको रुपमा ढाल्नका लागि सीजेपीले नीट पेपर प्रकरणलाई समात्यो ।
मोदी सरकारको अनवरत आलोचना गरिरहेका प्रसिद्ध युटयुबर ध्रुव राठीले पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिएका थिए ।
मे २० मा अपलोड गरिएको उक्त भिडियोमा राठीले बेरोजगारी, भ्रष्टाचार, नीट प्रश्नपत्र लिक विवाद र मिडियाको अवस्था जस्ता विषयमा कुरा गरेका थिए।















