चन्दन कुमार महतो, रौतहट | जेठ १३
राजपुर नगरपालिका किसानहरूको सिँचाइ मिटरको महसुल निःशुल्क गर्ने पूर्वनिर्णय कार्यान्वयनको दिशामा महत्वपूर्ण कदम चालेको छ। आज नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र गौर शाखालाई मिटर महसुलको बक्यौता स्वरूप चेक हस्तान्तरण गरिएको छ।
राजपुर नगरपालिका, रौतहटले नगरभित्रका किसानहरूको सिँचाइ मिटरको महसुल निःशुल्क गर्ने निर्णयलाई कार्यान्वयन गर्दै नेपाल विद्युत प्राधिकरण, वितरण शाखा गौर, रौतहटलाई बक्यौता तिर्न चेक हस्तान्तरण गरेको छ।
नगरपालिकाको राजश्व खाताबाट रकम रु ६,१२,७२७।११ (छ लाख बाह्र हजार सात सय सत्ताइस रुपैयाँ एघार पैसा) नेपाल विद्युत प्राधिकरणको खातामा जम्मा गरिएको छ। सो रकम कृषकहरूद्वारा प्रयोग हुँदै आएको कृषि सिँचाइ मिटर महसुल बापत बुझाइएको हो।
नगर प्रमुख डा. मो. राजीक आलमज्यूको नेतृत्वमा गरिएको यो पहलले किसानहरूलाई आर्थिक राहत प्रदान गर्नुका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धता पालनाको उदाहरण प्रस्तुत गरेको छ।
नगर प्रमुख आलमले आगामी दिनमा पनि यस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने जनाउँदै, नगरवासीहरूको सहयोग र समर्थनको अपेक्षा व्यक्त गर्नुभएको छ।












