८ बैशाख,२०८२/सोनु कुमार महतो,
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ६ पथराबुधराममा इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले सवारी साधन र पैदल यात्रीहरूको जाँच गर्ने क्रममा भारत बिहार जिल्ला मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पंचायत खरहा चैनपुर वडा नं. ८ ग्राम मुसहरीयाका २३ वर्षीय राज किशोर ठाकुरलाई नियन्त्रणमा लिएको हो।
उनी भारतबाट नेपालतर्फ BR.05 AC. 9477 नम्बरको मोटरसाइकल चलाएर आउँदै थिए। प्रहरीले मोटरसाइकलको सिटमुनि झोलाभित्र लुकाई राखेको अवस्थामा रू. १,००० दरका ६०० थान (रू. ६ लाख) र रू. ५०० दरका ८०० थान (रू. ४ लाख) गरी जम्मा रू. १० लाख नेपाली रुपैयाँ फेला पारेको छ।
उक्त रकमको श्रोत खुलाउन नसकेपछि प्रहरीले ठाकुर र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।









