अभिमनु कु. पटेल/ रौतहट, १२ माघ ।

रौतहट निर्वाचन क्षेत्र नं. १ का नेकपा (एमाले) तर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय कुमार गुप्ताले यसपटक पनि जनताले आफ्नो काम, व्यवहार र राजनीतिक योगदानको मूल्यांकन नगरे राजनीतिक जीवनबाट सन्यास लिने स्पष्ट चेतावनी दिनुभएको छ।

तीन पटकसम्म प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि जनताको सेवाबाट कहिल्यै पछाडि नहटेेको उल्लेख गर्दै गुप्ताले अबको निर्वाचन आफ्नो राजनीतिक जीवनको निर्णायक मोड हुने बताएका छन्। मैले पद पाएँ वा नपाएँ, जनताको सेवामा सधैं खटिएको छु। तर निरन्तर सेवा गर्दा पनि जनताले मूल्यांकन गर्न सकेनन् भने फेरि किन राजनीति गर्नुपर्छ ? भन्दै उहाँ भावुक देखिनुभयो।

गुप्ताले आफू अरू नेताहरू जस्तो चुनावको बेला मात्रै जनतामाझ देखिने नभएको दाबी गर्दै दिनरात, सुखदुःखमा साथ दिने नेता आफू मात्रै भएको दाबी गर्नुभयो। रौतहट जिल्लामा म जहाँसुकै रहे पनि जनताको काममै भेटिन्छु। रात होस् वा दिन जनताले खोजेको बेला म सधैं उपलब्ध छु उहाँले भन्नुभयो।

उहाँका अनुसार अन्य नेताहरूलाई भेट्न पहुँच सिफारिस र दलालको सहारा लिनुपर्ने अवस्था रहे पनि आफू कहाँ कुनै पनि नागरिक सिधै सम्पर्क गर्न सक्ने अवस्था छ। कसैले तेस्रो व्यक्तिको माध्यम खोज्नुपर्दैन। जनताले आफ्नै समस्यासहित सिधै मेरो घरमा आएर वा फोन गरेर कुरा गर्न सक्छन् र म आफ्नो हैसियतभित्र रहेर काम गरिदिन्छु गुप्ताले दाबी गर्नुभयो।

नेपालको हालको राजनीतिक अवस्थामा जनप्रतिनिधिप्रति जनताको बढ्दो असन्तोष, खोक्रा नाराभन्दा व्यवहारिक कामप्रति बढेको अपेक्षाको सन्दर्भ उल्लेख गर्दै गुप्ताले आफू त्यही अपेक्षाको प्रतिविम्ब भएको बताउनुभयो। विकासका ठूला भाषण र तामझामभन्दा जनताको सानो पीडामा साथ दिने नेता आजको आवश्यकता हो उहाँको भनाइ थियो।

आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनताले आफ्नो कामको मूल्यांकन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै गुप्ताले भने, एकपटक मलाई जिताएर हेर्नुहोस्। यदि मैले अझ प्रभावकारी रूपमा तपाईंहरूको काम गर्न सकिनँ भने अर्को पटक नजिताउनु होला।

तर यसपटक पनि पराजय भोग्नुपरे राजनीतिक जीवनलाई यहीँ टुंग्याउने अठोट रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो घर-परिवारको वास्ता नगरी, दिनरात जनताको सेवा गर्दा पनि निरन्तर पराजित हुनुपर्छ भने राजनीति छोडेर शान्त जीवन बिताउनु नै उपयुक्त ठान्दछु। यो मेरो अन्तिम चुनाव हुनेछ।

तीन पटक निर्वाचनमा हार बेहोरे पनि जनताको सेवाबाट पछि नहटेको स्मरण गराउँदै गुप्ताले अब निर्णयको जिम्मा रौतहट क्षेत्र नं १ का मतदाताकै हातमा रहेको बताउनुभयो। जनताले कस्तो प्रतिनिधि रोज्नुहुन्छ, त्यसले मेरो राजनीतिक भविष्य निर्धारण गर्नेछ,भन्दै उहाँले आफ्नो मनको पीडा सार्वजनिक गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here