रौतहट, २७ जेठ २०८२ – रौतहट जिल्लाको सदरमुकाम गौरस्थित भन्सार नजिकै रहेको सुषमा प्यालेस होटलबाट विवाहको अवसरमा सहभागी भएका पाहुनाहरूका ७ वटा हेलमेट चोरी भएको घटना सार्वजनिक भएको छ।
घटना २०८२ साल जेठ २२ गते राती घटेको हो। होटलमा आयोजित विवाह समारोहमा सहभागी भएका पाहुनाहरूले पार्किङमा राखिएको हेलमेट चोरी भएको गुनासो गरेका छन्।
पीडित पक्षका अनुसार, घटनापछि होटलमा रहेको सीसीटिभी फुटेज हेर्न आग्रह गरिए पनि होटल प्रशासनले चासो नदेखाएको आरोप लागेको छ। पीडितका आफन्त विक्की सोनीले होटल व्यवस्थापनमाथि शंकाको औँला उठाउँदै, “हामीले लाखौं रुपैयाँ तिरेर होटल बुक गरेका थियौं, तर सुरक्षा व्यवस्थाको अभावले एकै रातमा ७ वटा हेलमेट हराउनु लापरवाहीको पराकाष्ठा हो,” भने।
उनको भनाइ अनुसार, होटल प्रशासनले सीसीटिभी फुटेज देखाउन आनाकानी गर्दै आएको छ, जसले थप शंका उत्पन्न गराएको छ।










