२४ माघ, काठमाडौं ।
निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश र न्यायपरिषद्को प्रयासलाई निर्वाचन आयोगले रोक लगाइदिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निर्देशनमा न्यायपरिषद्ले ‘न्यायाधीश नियुक्तिको जानकारी’ भनी निर्वाचन आयोगमा पत्राचार गरेको थियो ।निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै निर्वाचन आयोगले अहिलेको अवस्थामा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने भनी परिषद्मा जवाफ लेखेको हो ।
निर्वाचन प्रक्रिया शुरु भइसकेपछि न्यायपरिषद्ले नियुक्तिको प्रयास गरेको थाहा पाएपछि सर्वोच्च अदालतकै कतिपय न्यायाधीशहरूले त्यसको विरोध समेत गरेका छन् ।
उनीहरूले ‘अब निर्वाचनबाट आउने ताजा जनादेश र त्यसबाट चयन हुने सरकारको कानुनमन्त्री सम्बद्ध न्यायपरिषद्ले नै नियुक्ति अघि बढाउनु उचित हुने’ भन्दै अहिले हतारो नगर्न सुझाव दिएका थिए ।न्यायपरिषद् स्रोतबाट अनलाइनखबरलाई प्राप्त कागजात केलाउँदा जिल्ला न्यायाधीश नियुक्तिका लागि निर्वाचन आयोगले दिएको अनुमतिपछि न्यायपरिषद्ले सर्वोच्चदेखि जिल्लातहमा अर्को चरणको न्यायाधीश नियुक्तिको प्रयास गरेको देखिन्छ । लोकसेवाले नै लिएको परीक्षाबाट उत्तिर्णहरूलाई नियुक्ति गर्न अनुमति दिएको आयोगले त्यसपछि अरु प्रक्रियामा भने रोक लगाएको हो ।















