२१ माघ, जापान । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् । बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल स्वदेश प्रस्थान गरेका हुन् ।जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति नेपालबाट प्रस्थान गरेका थिए । उनको टोली सोमबार जापान पुगेको थियो ।
नेपाल र जापान बिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन उनी सोमबार जापान आएका थिए ।जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयाोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएर सम्बोधन गरेका थिए ।
यस्तै टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट पनि गरेका थिए । भ्रमणकै क्रममा जापानका प्रधानमन्त्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिएI















