चन्दन कुमार महतो, रौतहट | जेठ ११
रामपुरखापमा भैरोनाथ मन्दिरको शिलान्यास, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा
रौतहट जिल्लाको परोहा नगरपालिका–९ स्थित रामपुरखापमा भव्य धार्मिक स्थलको रूपमा विकास हुने अपेक्षा गरिएको भैरोनाथ मन्दिरको शिलान्यास गरिएको छ।
आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा परोहा नगरपालिकाको मेयर पदका लागि तयारी अवस्थामा रहेका अमिन्द्र प्रसाद यादवले औपचारिक कार्यक्रमबीच मन्दिरको शिलान्यास गरेका हुन्।
मधेस प्रदेश सरकारअन्तर्गत वाणिज्य तथा पर्यटन मन्त्रालयबाट मन्दिर निर्माणका लागि १३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ। रामपुरखाप निवासी भुपेन्द्र यादव र उनकी श्रीमती मन्तोरा देवी यादवले मन्दिर निर्माणका लागि निःशुल्क रूपमा जग्गा दान गरेका छन्। धार्मिक आस्था र संस्कृतिप्रतिको निष्ठाका साथ उनीहरूले विधिपूर्वक पुजापाठ गरी जग्गा हस्तान्तरण गरेका हुन्।
शिलान्यास कार्यक्रममा स्थानीय युवा नेता सचिन्द्र यादव, राजमंगल यादव, नेकपा (एस) का नेता धिरेन्द्र पटेल, नवलकिशोर यादव, सुधल मुखिया, प्रमोद पटेल, मेघनाथ यादव, चन्देश्वर यादव लगायत वडावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेता अमिन्द्र प्रसाद यादवले धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय पर्यटन विकास, रोजगारीको सिर्जना र समृद्धि सम्भव हुने धारणा राखे।
स्थानीयवासीहरूले भुपेन्द्र यादव दम्पतीप्रति आभार प्रकट गर्दै रामपुरखापमा धार्मिक र सांस्कृतिक चेतनाको विकासतर्फ यो कदम सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।
भैरोनाथ मन्दिरको निर्माणले रामपुरखापलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।










