२४ माघ २०८२रौतहट /प्रेमचन्द्र झा
रौतहट — जनताको सेवा र हकअधिकार सुनिश्चित गर्न स्थापना गरिएका स्थानीय तहहरू कतै तानाशाहीको अखडा बन्दै गएका छन् । रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा जनप्रतिनिधिबाटै कर्मचारीमाथि अमानवीय व्यवहार भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहको शासन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।
बौधिमाई नगरपालिकाका मेयर प्रदीप राय यादवले आफ्नै नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीलाई कुटपिट गर्दै करिब एक घण्टासम्म शौचालयमा थुनेको आरोप लागेको छ । पीडित हुनेमा वडा नम्बर–६ पिपरिया टोलस्थित स्वास्थ्य चौकीमा कार्यरत पाँचौँ तहका सिएमए (CMA) स्वास्थ्यकर्मी अनिल साह रहेका छन् ।
पीडित साहका अनुसार सर्लाहीको बसवरिया गाउँपालिका–गोनरवाका स्थायी बासिन्दा उनीमाथि क्षयरोगसम्बन्धी एक औषधि नगर प्रहरीलाई नदिएको निहुँमा मेयर यादवले अशोभनीय शब्द प्रयोग गर्दै कुटपिट गरेका थिए । त्यसपछि पदको दुरुपयोग गर्दै उनलाई शौचालयभित्र थुनी बाहिरबाट ढोका बन्द गरिएको थियो ।
करिब एक घण्टासम्म शौचालयमै थुनिएपछि त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र कर्मचारीहरूको पहलमा साहलाई बाहिर निकालिएको थियो । तर त्यसपछि पनि मेयर यादव र स्वास्थ्यकर्मी साहबीच दुबै तर्फबाट हातपात तथा गालीगलौज भएको पीडित पक्षको दाबी छ ।
स्थानीयका अनुसार मेयर यादव आफ्नो करिब पौने चार वर्षको कार्यकालमा पटक–पटक विवादमा मुछिँदै आएका छन् । यसअघि पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, सचिव, जिन्सी शाखा प्रमुख, पशु शाखा प्रमुखलगायत कर्मचारीमाथि कुटपिट, दुर्व्यवहार तथा कोठा र शौचालयमा थुन्ने जस्ता घटनामा संलग्न भएको आरोप लाग्दै आएको छ ।
स्थानीय तह जनताको सेवा, विकास र सुशासनको केन्द्र बन्नुपर्ने भए पनि बौधिमाई नगरपालिकामा विकासभन्दा बढी विवाद, मुद्दा–मामिला, झगडा र त्रासको वातावरण हाबी भएको पीडित पक्षको गुनासो छ । मेयरले पदको धाकधम्की देखाएर सर्वसाधारण र कर्मचारीलाई तर्साउने, सामान्य विषयमै विपक्षीमाथि मुद्दा दर्ता गराउने र आफूअनुकूल नचल्ने कर्मचारीमाथि तानाशाही शैली अपनाउने गरेको आरोप समेत लगाइएको छ ।
घटनाका क्रममा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक र सहसंयोजक, उपप्रमुख, वडा अध्यक्ष मुक्तिनारायण, नरेन्द्र कुमार सिन्हा तथा नगर प्रहरीको उपस्थितिमा समेत मेयरको व्यवहारको खुलेर विरोध गर्न कसैले साहस गर्न नसकेको पीडित अनिल साहले बताएका छन् । “सबैको सामुन्ने यस्तो व्यवहार हुँदा पनि कसैले बोल्न नसक्नुले म झन् पीडित र दुखित भएको छु,”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here