२३ माघ, काठमाडौं । बिहीबार दिउँसो २ बजेतिर रौतहटको ईशनाथ नगरपालिका–३ मठिया टोलमा एउटा कारले चार वर्षीया बालिकालाई किच्यो । अनुसन्धानका क्रममा उक्त कार चुनावी प्रचारमै खटिएको पाइएको छ । रास्वपा उम्मेदवार शेख सगिरको चुनावी घरदैलोमा उक्त कार खटिएको पाइएको छ ।सार्वजनिक भएको क्लोज सर्किट क्यामेरा (सीसीक्यामेरा)को फुटेजमा बा १५ च ४२४४ नम्बरको सेतो कार गुड्दै गरेको देखिन्छ । केही अगाडि सानो घुम्ती हुन्छ । त्यही घुम्तीनेरबाट ती बालिका बाटो क्रस गर्न खोजेको जस्तो देखिन्छ । आफ्नै गतिमा गुडेको त्यो कारले ती बालिकालाई ठक्कर दिन्छ ।

चक्काले किचेर अगाडि बढेपछि कार रोकिन्छ । केही मानिसहरू दौडिएर लडिरहेकी ती बालिकालाई उठाउँछन् । त्यतिन्जेलमा त्यहाँ मान्छेको भीड जम्मा भइसक्छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी तथा प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार त्यतिबेला गम्भीर घाइते भएकी बालिका चार वर्षीया अल्फा खातुन हुन् । उनलाई त्यही ठक्कर दिने कारमा राखेर अस्पताल लगिन्छ । ‘ठक्कर दिएपछि त्यही कारमा बालिकाको आमा र आफन्त बसेर अस्पताल लगेको देखिएको छ,’ बस्यालले अनलाइनखबरसँग भने ।

उनका अनुसार ती बालिकालाई सुरुमा सिटी अस्पताल गौर लगिन्छ । त्यहाँ गम्भीर रहेको बताएपछि प्रादेशिक अस्पताल गौर लगिन्छ । बालिकाको अवस्था गम्भीर रहेको भनेपछि चालक त्यहाँबाट फरार हुन्छ।अन्तत: चिकित्सकले ती बालिकालाई मृत घोषणा गर्छन् । बालिकाको मृत्यु भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा उक्त कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्टिकर टाँसेको देखिन्छ । अगाडिको नम्बर प्लेटनेर बाँसको लट्ठी ठड्याइएको उक्त कारलाई प्रहरीले नियन्त्रणमा लिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here