२ असोज २०८२रौतहट /संजिब झा
रौतहट C.D.O बिनोद कुमार खडका ज्यु बाट परिवर्न सुरु….
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको समन्वय बैठक, महत्वपूर्ण निर्णयहरू सार्वजनिक
रौतहट, ०२ असोज । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको अध्यक्षतामा रौतहट जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा एक महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण तथा आर्थिक शुचिता कायम गर्न आवश्यक विषयमा विस्तृत छलफल गरी ठोस निर्णयहरू पारित गरिएको छ ।
बैठकले ‘सुशासनमा हाम्रो प्रतिवद्धता, भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता’ भन्ने नाराका साथ अघि बढाइएको अभियानलाई थप प्रभावकारी बनाउँदै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सो क्रममा जिल्लाभरका सरकारी कार्यालय, शिक्षा, स्वास्थ्य, योजना, कृषि, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा अन्य शाखामा हुने गतिविधिलाई पारदर्शी बनाउन विशेष जोर दिने उल्लेख गरिएको छ ।

निर्णयअनुसार:
सार्वजनिक सेवामा अनियमितता रोक्ने, अनावश्यक खर्च कटौती गर्ने र आर्थिक शुचिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सरकारी तथा सार्वजनिक साधनसामग्रीको व्यक्तिगत प्रयोगमा पूर्ण रोक लगाइने र उल्लङ्घन गर्ने अधिकारी वा कर्मचारीलाई कारबाही गर्ने व्यवस्था मिलाइनेछ ।
हरेक कार्यालयले मासिक आम्दानी–खर्च विवरण तयार गरी समयमै वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।
योजनाको कार्यान्वयनमा गुणस्तर, समयबद्धता र पारदर्शितालाई प्राथमिकता दिनेछ ।
प्रत्येक निकायले तीन/तीन महिनामा सार्वजनिक प्रकटीकरण (Proactive Disclosure) गर्नुपर्नेछ ।
त्यस्तै, योजनाको गुणस्तरीय कार्यान्वयन, जनताप्रति उत्तरदायित्व र सेवाप्रवाहलाई अझ सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले सामूहिक रूपमा प्रतिवद्धता जनाएका छन् ।
बैठकमा भएका निर्णयहरू कार्यान्वयनमा ल्याउन प्रमुख जिल्ला अधिकारी खड्काले सबै सरोकारवाला निकायलाई आह्वान गर्दै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि सहकार्य गर्न अनुरोध गरेका छन् ।











