रौतहट, गौर – मधेश प्रदेशको संस्कृति, परम्परा र मूल्यमान्यताहरूलाई जीवित राख्ने उद्देश्यले दशैंको सातौं दिन अर्थात् फूलपातीको अवसरमा रौतहट जिल्लाको गौर नगरपालिका–५ स्थित मोनास्टिक इन्टरनेशनल एकेडेमीका बालबालिकाहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक प्रस्तुतिहरू गरेका छन्।
बालबालिकाहरूले दुर्गा पूजा समिति राजदेवी नगरपालिका–पथरा र दुर्गा पूजा समिति गौर नगरपालिका–सिर्सिया स्थित पंडालहरूमा आफ्नो कला प्रस्तुत गरी दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
परम्परागत पहिरनमा सजिएका बालबालिकाहरूको धार्मिक नृत्य र प्रस्तुतिले स्थानीय संस्कृतिप्रति गर्व गर्ने भावना जागृत गराएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा उपस्थित अभिभावक तथा स्थानीयवासीले विद्यार्थीहरूको प्रतिभाको उच्च प्रशंसा गर्दै विद्यालयले अतिरिक्त क्रियाकलापलाई दिएको महत्व र प्रोत्साहनप्रति विद्यालय प्रशासनलाई धन्यवाद ज्ञापन गरेका थिए।
विद्यालयका प्रधानाध्यापकले बालबालिकाको प्रस्तुतिले उनीहरूको आत्मविश्वास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई आफ्नो संस्कृति र परम्परासँग अझ निकट बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।















