९ फागुन २०८२ , रौतहट ।
रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढाबाट शुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो ।पक्राउ परेका उनी जनमत पार्टीका जिल्ला संयोजक हुन् भने सोही वडाका पूर्व अध्यक्ष पनि हुन् ।
बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि भएको विवादले हिंसात्मक रुप लिएको थियो । हिजो शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो ।तर आज बिहानबाटै पुन: सवगढामै दुई पक्षबीच झडप भएको छ । अहिले रौतहटका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू समेत लगाएको छ ।
सवगढा घटनामा शेख जमसेदको संलग्नताका केही प्रमाण समेत फेला पारेको प्रहरी स्रोतको दाबी छ।प्रहरीले जमसेदलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा लगेको छ ।
आफूलाई प्रहरीले घरबाटै लिएर आएको शेख जमशेदले पनि बताएका छन् भने प्रशासनले यस विषयमा बोल्न चाहेको छैन ।
हालसम्म झडपका क्रममा १० जना सामान्य घाइते भएको, २० जना व्यक्ति पक्राउ परेको र ७ मोटरसाइकल र १ थान जीप आगजनिका कारण नष्ट भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताए ।झडप नियन्त्रणमा लिन प्रहरी ५० थान भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो भने दर्जनौं राउण्ड हवाइ फायर समेत गरेको थियो ।















