३ जेठ, बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था विना सरकारले वर्षौंदेखि बसेको वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आइतबार (आज) बुटवलमा वृहत प्रदर्शन र राष्ट्रिय सम्मेलन आयोजना गरेका छन् ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन र सम्मेलन आयोजना भएको हो ।बुटवलको राजमार्ग चौराहामा जम्मा भएर दिउँसो १ बजे शुरु हुने प्रदर्शन ट्राफिकचोक पुगेर सभामा परिणत हुने आयोजकले बताएका छन् । ‘प्रदर्शनमा भूमिहीन/अव्यवस्थित बसोबासीको उल्लेख्य वस्ती रहेका २२ बढी जिल्लाबाट हजारौंको सहभागिता हुन्छ,’ संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले भने ।
सरकारले विना विकल्प गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठीबास लगाउने कार्य गरेकाले यसको सशक्त विरोध गर्न प्रदर्शन गर्न लागिएको उनले बताए । प्रदर्शनमा ३० हजार बढी सुकुमवासी तथा अव्यवस्थित बसोबासीको उपस्थिति हुने उनको दाबी छ ।
सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो व्यवस्था नगरी हतारोमा वस्तीमा डोजर चलाएपछि देशभरका १२ लाख बढी परिवारका झण्डै ५० लाख नागरिक प्रभावित भएका संघर्ष समितिका सल्लाहकार विरेन्द्र विक बताउँछन् । वर्षौंदेखि बस्दै आएको घरबास सरकारले हटाउन सक्ने त्रासले लाखौं नागरिकमा मानसिक पीडा र तनाव भएकाले सरकारलाई दबाब दिन आन्दोलन गरिएको विकले बताए ।
जेठ ४ गते बुटवलमै हुने सम्मेलनमा भूमिहीन/अव्यवस्थित बसोबासीको समस्याको न्यायोचित समाधान गर्न विज्ञहरु समेतको सहभागितामा छलफल गरी ठोस निचोड निकाल्ने, राष्ट्रियस्तरको संघर्ष समिति गठन गर्ने र सरकार तथा प्रमुख दलहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्मेलनले तय गर्ने संघर्ष समितिका सल्लाहकार विकले जानकारी दिए ।















