रौतहट, फागुन १९ गते।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शेख सगिरले आफूले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्ला निराधार र कपोलकल्पित भएको स्पष्ट पारेका छन।
उम्मेदवार सगिरले जारी गरेको वक्तव्यमा रौतहट-२ का आम मतदाताबाट रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ प्रति उत्साहजनक समर्थन प्राप्त भइरहेको उल्लेख गर्दै विपक्षी दलहरू आत्तिएर दिग्भ्रम सिर्जना गर्न योजनाबद्ध रूपमा झूटा अफवाह फैलाइरहेको आरोप लगाएका छन।
उनका अनुसार, रौतहट-२ मा रास्वपाको बढ्दो जनसमर्थन देखेर केही दलका षड्यन्त्रकारी, भ्रष्टाचारी प्रवृत्तिका व्यक्ति तथा दलालहरूले मतदातालाई भ्रमित पार्ने उद्देश्यले म अन्य उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्ला चलाएका हुन्। यसमा कुनै सत्यता छैन।
सगिरले विपक्षीहरूले चुनावी मैदानमा सीधा प्रतिस्पर्धा गर्न नसकेर जालझेल र प्रोपगन्डाको सहारा लिएको दाबी गर्दै यस्ता गतिविधिबाट सचेत रहन आम जनसमुदायलाई आग्रह गरेका छन। उनले भ्रष्टाचारविरुद्धको अभियानलाई कमजोर पार्ने प्रयास असफल हुने उल्लेख गर्दै रास्वपाको अभियान स्वच्छ राजनीति र पारदर्शिताको पक्षमा दृढ रहेको बताए।
साथै, क्षेत्रका मतदातालाई भ्रमपूर्ण अभिव्यक्तिमा विश्वास नगर्न अनुरोध गर्दै उनले सच्चा परिवर्तन चाहने सबैलाई रास्वपाको अभियानमा साथ दिन आह्वान गरेका छन।
रौतहट-२ मा चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवार सगिरले जनताको विश्वास नै आफ्नो प्रमुख शक्ति भएको बताउँदै निर्वाचनमा विजय हासिल गर्ने दाबी गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here