रौतहट, असार १५ — रौतहतको कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोलमा शारीरिक रूपमा अपाङ्ग ५० वर्षीय लाल बिहारी साहमाथि सामूहिक कुटपिट भएको छ। यो घटना असार १२ गते दिउँसो करिब ४:३० बजे भएको हो।
घटनाको विवरण
पीडित पक्षले दिएको जानकारी अनुसार, स्थानीय विल्टु मियाँ धोबी, अलि अकबर मियाँ धोबी, र इन्ताज आलम मियाँ धोबी ले लाल बिहारी साहको नाममा रहेको जग्गा मिचेर अवैध रूपमा भवन बनाउन खोजेका थिए। जब लाल बिहारी साहले यसको विरोध गरे, उनीहरूले गालीगलौज गर्दै लात, घुँसा, मुक्का र फलामको जी.आई. पाइप प्रयोग गरी आक्रमण गरे।
यो अमानवीय आक्रमणबाट साहको बायाँ खुट्टाको हड्डी भाँचिएको छ, बायाँ हातमा फ्र्याक्चर भएको छ, र पहिलेदेखि अपाङ्ग रहेको दाहिने हातमा पनि गम्भीर चोट लागेको छ। उनी कुटपिटपछि अचेत अवस्थामा पुगेका थिए।
उपचार र परिवारको माग
घाइते साहलाई तत्काल स्थानीयको सहयोगमा एम्बुलेन्समार्फत गरुडास्थित बेटर नेपाल मल्टिस्पेशालिस्ट अस्पताल पुर्याइएको थियो। डाक्टरहरूका अनुसार उनको खुट्टामा स्टील राखिएको छ र हातमा प्लास्टर लगाउनुपर्ने अवस्था छ।
पीडित परिवारले दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर हदैसम्मको सजाय दिन माग गरेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालयले मुद्दा दर्तामा ढिलासुस्ती गरेको र पक्राउ परेका व्यक्तिलाई पनि छाडेको आरोप लगाएका छन्। लाल बिहारी साहकी श्रीमतीका अनुसार, करिब एक महिनाअघि पनि विपक्षीले वडा अध्यक्षकै अगाडि कुटपिट गरेका थिए।










