प्रेमचन्द्र झा
अशोज ०६ गते

रौतहट । अल्जाइमर रोगबारे ज्येष्ठ नागरिक तथा सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३३औँ विश्व अल्जाइमर चेतना दिवसका अवसरमा रौतहटमा विशेष सचेतना कार्यक्रम आयोजना गरिएको छ। असोज ५ गते स्वास्थ्य कार्यालय गौरको सभा भवनमा आयोजित कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि तथा ठूलो संख्यामा ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक ठाकुर तथा स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंहको सहभागिता र सहयोग रहेको थियो। जिल्ला ज्येष्ठ नागरिक संघ रौतहट तथा मधेश प्रदेश संघका अध्यक्ष विजय किशोर झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व शिक्षा निर्देशक वीरेन्द्र कुमार झा, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीलगायतको उपस्थिति थियो।

कार्यक्रममा गौरका चिकित्सक डा. शशी कुमार गुप्ताले अल्जाइमर रोगका कारण, लक्षण, विभिन्न अवस्था, निदान तथा रोगीको हेरचाहका विषयमा विस्तृत जानकारी दिनुभयो। उहाँले प्रोजेक्टरमार्फत स्लाइड प्रस्तुत गर्दै अल्जाइमर रोगले मानिसको स्मरणशक्ति, सोच्ने क्षमता, भाषा, व्यवहार तथा दैनिक जीवनका काम गर्ने क्षमतामा क्रमशः कसरी प्रभाव पार्छ भन्ने विषयलाई सचित्र रूपमा स्पष्ट पार्नुभयो।

चिकित्सकहरूका अनुसार अल्जाइमर मस्तिष्कमा हुने एक प्रगतिशील न्युरोडिजेनेरेटिभ रोग हो। यो डिमेन्सियाको सबैभन्दा सामान्य कारणमध्ये एक हो। सामान्य उमेर बढ्दै जाँदा कहिलेकाहीँ हुने बिर्सने समस्या र अल्जाइमरबीच फरक छुट्याउन आवश्यक हुन्छ। अल्जाइमरमा स्मरणशक्ति तथा अन्य मानसिक क्षमता क्रमशः कमजोर हुँदै जाने र त्यसको असर दैनिक जीवनमा समेत पर्न थाल्ने गर्दछ।

बारम्बार एउटै कुरा सोध्नु पनि संकेत हुन सक्छ

अल्जाइमरको प्रारम्भिक अवस्थामा मानिसले हालै भएका घटना वा कुराहरू बारम्बार बिर्सने, एउटै कुरा पटक–पटक सोध्ने, सामान कहाँ राखेको भन्ने सम्झन नसक्ने तथा परिचित स्थानमा समेत बाटो वा स्थान पहिचान गर्न कठिनाइ हुने जस्ता लक्षण देखाउन सक्छ।

त्यसैगरी सही शब्द खोज्न कठिन हुनु, कुराकानीमा समस्या आउनु, योजना बनाउन तथा हिसाबकिताब गर्न कठिन हुनु र निर्णय गर्ने क्षमतामा कमी आउनु पनि प्रारम्भिक संकेत हुन सक्ने चिकित्सकहरूले बताएका छन्।

रोग बढ्दै जाँदा परिवारका सदस्य वा परिचित व्यक्तिलाई नचिन्नु, समय तथा स्थानबारे भ्रमित हुनु, दैनिक काम आफैं गर्न नसक्नु, व्यक्तित्व तथा व्यवहारमा परिवर्तन आउनु, अनावश्यक शंका, बेचैनी वा आक्रोश बढ्नुजस्ता समस्या देखिन सक्छन्। गम्भीर अवस्थामा खाना खाने, कपडा लगाउने, हिँडडुल गर्ने तथा अन्य आधारभूत काममा समेत अरूको सहयोग आवश्यक पर्न सक्छ।

एउटै परीक्षणबाट मात्र अल्जाइमरको निदान हुँदैन

कार्यक्रममा चिकित्सकहरूले अल्जाइमर रोगको निदान एउटै परीक्षणबाट मात्र नहुने जानकारी दिएका थिए। बिरामीको समस्या कहिलेदेखि सुरु भयो, समस्या क्रमशः बढिरहेको छ कि छैन र दैनिक जीवनमा त्यसले कति प्रभाव पारेको छ भन्ने विषयमा विस्तृत जानकारी लिएर चिकित्सकले मूल्यांकन गर्ने गर्छन्।

स्मरणशक्ति, ध्यान, भाषा, गणना, समस्या समाधान गर्ने क्षमता तथा अन्य मानसिक क्षमताको परीक्षणसमेत गरिन्छ। आवश्यकताअनुसार शारीरिक तथा न्युरोलोजिकल परीक्षण गरी स्मरणशक्ति कमजोर हुनुका अन्य सम्भावित कारण पहिचान गरिन्छ।

भिटामिन बी–१२ को कमी, थाइराइडको समस्या तथा अन्य उपचार गर्न सकिने स्वास्थ्य अवस्थाका कारण पनि स्मरणशक्ति कमजोर हुन सक्ने भएकाले चिकित्सकले आवश्यकताअनुसार रगत परीक्षण गर्न सक्छन्। मस्तिष्कमा स्ट्रोक, ट्युमर वा अन्य समस्या छ कि छैन भन्ने हेर्न सिटी स्क्यान वा एमआरआई समेत गरिन सक्छ।

विशेष अवस्थामा पेट स्क्यान तथा सेर वरो स्पीनल फलुइडमा अल्जाइमरसम्बन्धी वायोमारकरस परीक्षण गर्न सकिने चिकित्सकहरूले बताएका छन्। केही चिकित्सा केन्द्रमा रगतबाट पनि अल्जाइमरसम्बन्धीवायोमारकरस परीक्षण उपलब्ध हुँदै गएको भए पनि यसको उपलब्धता र प्रयोग स्थानअनुसार फरक हुन सक्छ।

बिर्सने समस्या बढ्दै गए चिकित्सकीय परामर्श आवश्यक

ज्येष्ठ नागरिकमा कहिलेकाहीँ नाम, सामान वा कुनै घटना बिर्सनु मात्र अल्जाइमर रोग भएको प्रमाण नहुने चिकित्सकहरूको भनाइ छ। तर बिर्सने समस्या लगातार बढ्दै गएको छ र त्यसले दैनिक जीवनका काममा असर पार्न थालेको छ भने त्यसलाई सामान्य बुढ्यौलीको समस्या भनेर बेवास्ता गर्नु हुँदैन।

यस्तो अवस्थामा न्युरोलोजिस्ट, जेरियाट्रिक विशेषज्ञ वा सम्बन्धित चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक मूल्यांकन गराउनुपर्ने कार्यक्रममा जानकारी दिइएको थियो।

चिकित्सकहरूले अचानक स्मरणशक्ति हराउने, बोल्न नसक्ने, शरीरको कुनै एक भाग कमजोर वा लाटो हुने, अनुहार बांगिने वा बेहोस हुने जस्ता लक्षण देखिएमा अल्जाइमर भनेर घरमै बस्न नहुने बताएका छन्। यस्ता लक्षण स्ट्रोकजस्तो आपत्कालीन अवस्थाका संकेत हुन सक्ने भएकाले तत्काल अस्पताल पुर्‍याउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

अल्जाइमर रोगीको उपचारमा औषधिसँगै परिवारको सहयोग, सुरक्षित वातावरण, नियमित दिनचर्या, सामाजिक सहभागिता र मानसिक तथा शारीरिक सक्रियताको पनि महत्वपूर्ण भूमिका हुने भएकाले रोगीलाई एक्लो पार्नुको सट्टा परिवार तथा समुदायले सहयोग गर्नुपर्ने सन्देश कार्यक्रममार्फत दिइएको थियो।

विश्व अल्जाइमर चेतना दिवसका अवसरमा आयोजित कार्यक्रमले रौतहटका ज्येष्ठ नागरिक तथा सर्वसाधारणमा स्मरणशक्ति कमजोर हुने समस्यालाई समयमै पहिचान गर्ने, चिकित्सकीय परामर्श लिने र अल्जाइमर रोगीप्रति परिवार तथा समाजको व्यवहारलाई सहयोगी बनाउने विषयमा जनचेतना फैलाउन महत्वपूर्ण सन्देश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here