५ असोज, काठमाडौं । नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेर यो जानकारी दिएको हो ।
सूचनामा उल्लेख भएअनुसार असोज ७ गते बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।चितवनमा भने मध्यम वर्षाको सम्भावना छ । गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१.४ मिलिमिटर वर्षा मापन भएको थियो ।
रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो रंगले संकेत गरेर मौसमबारे अध्यावधिक रहन महाशाखाले भनेको छ ।गत भदौ १० गतेको भोटेकोशी बाढीपछि तहसनहस भएको सडक सन्जाल पुन:स्थापित गर्दै विपद व्यवस्थापनको काम चलिरहेकाले ती जिल्लामा रहेकाहरुलाई मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन भनिएको छ ।
वर्षाका कारण ती जिल्लाका नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको हो















