६ असोज, काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठक अन्त्य गर्दै गर्दा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र २१ सम्झाए ।
‘हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य र दायित्व’ भएको उल्लेख गर्दै उनले सबै सदस्यहरूको पहलबाटै प्रतिनिधिसभा नियमावली–२०८३ लागू गरेको र यसअन्तर्गत सभा सञ्चालन गरिराखेको बताए ।
‘म सबै माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र नियम २१ । यसमा पनि नियम २० को खण्ड (ट) प्रति यहाँहरूको ध्यानाकर्षण गराउँदछु’ सभामुख अर्यालले भनेका छन् ।
सभामुखले फोकस गरेको प्रतिनिधिसभा नियमावलीको नियम २० को (ट) मा संसद्मा सांसदहरूले मोबाइल प्रयोग गर्दा ध्यान दिनुपर्ने विषय छ ।जहाँ प्रतिनिधिसभाको बैठककक्षमा रहँदा सांसदहरूले पालना गर्नुपर्ने नियम अन्तगर्त भनिएको छ, ‘बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’
यस्तो नियमको उल्लंघन भएको र संसद्मा सांसदहरूले मोबाइल प्रयोग भइरहेकोप्रति सभामुख अर्यालले सांसदहरूको ध्यानाकर्षण गरेका हुन् ।















