चन्दन कूमार महतो ,राैतहट,५ गते जेष्ठ ।
रौतहटको ईशनाथ नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको औरैया महादेव मन्दिरको निर्माण कार्य आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। मधेस प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयको लागतमा बन्न लागेको मन्दिरको शिलान्यास जनमत पार्टीका प्रदेश सभा सदस्य उम्मेदवार शेख मोहम्मद आलम उर्फ बाबु साहेब र ईशनाथ नगरपालिकाकी नगर प्रमुख कौशल्या देवी सिन्हाले संयुक्त रूपमा गरे।
शिलान्यास समारोहमा प्रमुख अतिथि मोहम्मद आलमले प्रदेश सरकार धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा प्रतिवद्ध रहेको बताउँदै यसले स्थानीय रोजगार तथा आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
नगर प्रमुख सिन्हाले स्थानीयवासीको लामो समयदेखिको चाहना पुरा भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ बढी विकास योजनाहरू ल्याउने प्रतिबद्धता जनाइन्। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मन्दिर निर्माणमा प्रदेश सरकारको चासोप्रति आभार प्रकट गर्दै योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे।
शिलान्यास कार्यक्रममा जनमत पार्टीका केन्द्रीय नेता रामेश्वर झा, रामशंकर ठाकुर, वडा नं. २ का अध्यक्ष धर्मेन्द्र साह, वडा नं. ३ का वडा अध्यक्ष, औरैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष किशोरी यादव, युवा नेता दिलबहादुर दास, मोहम्मद नसिम, उदय साह कानु लगायत पार्टीका स्थानीय नेता, कार्यकर्ता, सञ्चारकर्मी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति थियो।










