सोनु कुमार महतो | रौतहट |२०८२/२/२०
रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको राइस मिल क्षेत्र पछिल्लो समय युवाहरूको मदिरा सेवन र तोडफोडको गतिविधिका कारण असुरक्षित बन्दै गएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, रातिको समयमा केही युवाहरूले रक्सी सेवन गरेर बोतल फुटाई त्यही ठाउँमा फाल्ने गरेका छन्।
गर्मी मौसमका कारण राति घुमफिर र हिँडडुल गर्नेको संख्या बढिरहेको बेला फुटेका काँचका टुक्राहरूले पैदलयात्रुहरूलाई घाइते पार्ने सम्भावना अत्यन्त बढेको छ। विशेषतः बालबालिका र वृद्धवृद्धाका लागि यो अवस्था अझ खतरनाक मानिएको छ।
स्थानीय एक बासिन्दा भन्छन्, “रातिको समयमा बाटोमा हिंड्दा धेरै चोटि फुटेको काँच देखिन्छ। कहिलेकाहीँ गाडीको टायर पन्चर हुने, अनि मान्छेहरू लड्ने घटना समेत भएका छन्।”
यस समस्याबारे स्थानीय प्रशासनको ध्यान जानु आवश्यक देखिन्छ। सरोकारवाला निकायहरूले तुरुन्तै पहल नगरे गम्भीर दुर्घटनाहरू हुनसक्ने चिन्ता बढ्दै गएको छ।
स्थानीय बासिन्दाहरूले प्रहरी गस्ती बढाउन, सार्वजनिक चेतना फैलाउन र सफाइ व्यवस्था कडा बनाउन माग गरेका छन्।










