२४ भाद्र २०८२ /चपुर,रौतहट /संजिब झा
Gen-Z द्वारा भइरहेको देशव्यापी प्रदर्शनको क्रममा रौतहटका युवाहरु पनि सरकारप्रति रहेको आक्रोश व्यक्त गर्दै रौतहटभरि नै प्रदर्शन सुरु गरेको देख्न सक्नुहुन्छ। चपुरमा प्रदर्शनकारी माथि प्रहरीद्वारा गोली समेत चलाइएको छ।
प्रदर्शनकरीहरुले प्रहरीलाई आफ्नो उपस्थिति जनाउँदै रौतहटका चपुरमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडीमा आगजनी गरेका छन् ।अब युवा पुस्ताहरु आफ्नो प्रतिनिधित्व आफै गर्ने छन् भन्ने नाराका साथ आन्दोलन तिब्र गरिरहेका छन्। प्रदर्शनकारीलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले चन्द्रनिगाहपुरमा कर्फ्यु जारी गर्दै कडाईका साथ पाल्न गर्न आदेश दिएको छ ।




उनीहरूले सडकमा टायर बालेर आवागमन अवरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजी गरेका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको प्रदर्शनका क्रममा ‘केपी ओली मुर्दावाद’ र ‘हामीलाई बोल्न दे सरकार’ लेखिएका प्लेकार्ड बोकेका युवाहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
स्थानीय प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी परिचालन गरेको छ । यस अघि सोमवार काठमाडौंमा भएको विरोध प्रदर्शन हिंसात्मक मोड लिँदा १९ जनाको मृत्यु भएको थियो । काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गएको पुष्टि भएको छ । आज पनि एक जना युवा पुस्ताले काठमाडौंमा प्रहरीको गोलीबाट ज्यान गुमाएको छ।
उक्त घटना पछि देशको विभिन्न स्थानमा आक्रोशित युवा सडकमा उत्रिन थालेका छन् । भने प्रशासनले शान्ति–सुरक्षा कायम गर्न तथा धैर्य र संयमता अपनाउन सबैलाई आग्रह गरेको छ ।














