२८ चैत (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का कृषिमन्त्रीहरूको बैठकका लागि नेपाल आउनुभएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।
मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री चौहानले दुईपक्षीय सम्झौता र संयुक्त कार्य समूहहरूलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्धा छाडेर थाँती रहेका महत्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशीलरूपमा काम गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले हालै थाइल्याण्डको बैङ्ककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गर्नुभयो ।















