चन्दन कुमार महतो, रौतहट।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष शम्भु सिंहको पहल र समन्वयमा सरस्वती माध्यमिक विद्यालय, पिपरा भलोहियामा आयोजित यस शिविरमा सयौं नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
नेत्र ज्योति संघ, गौर आँखा अस्पताल, पुरेनवाको आयोजनामा सम्पन्न उक्त शिविरमा विभिन्न वडाबाट आएका नागरिकहरूको शिविरमा कुल ४२८ जनाको आँखा परीक्षण गरिएको थियो। त्यसैगरी १४२ जनालाई औषधि वितरण, १३८ जनालाई चस्मा वितरण गरिएको छ भने ६३ जना बिरामीहरूलाई मोतियाबिन्दु लगायत जटिल समस्या देखिएपछि शल्यक्रियाका लागि रेफर गरिएको छ।
कार्यक्रममा वरिष्ठ आँखाविज्ञ, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। गाउँपालिका अध्यक्ष सिंहले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै यस्ता सेवामूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिविरमा सहभागी नागरिकहरूले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रम सफल बनाउन गाउँपालिका कार्यालय, विद्यालय प्रशासन र स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहेको आयोजकहरूले जानकारी दिएका छन्।
स्वास्थ्य पहुँचबाट बञ्चित दुर्गम क्षेत्रका नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएका यस्ता शिविरहरूले प्रभावकारी सेवा पुर्याउने विश्वास लिइएको छ।










