सोनु कूमार महतो । रौतहट, जेठ ३० गते — रौतहट जिल्ला अदालत बार एशोसिएसनले वीरगंजस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासमा न्याय सम्पादनको क्रममा दुईजना न्यायाधीशमाथि कालो मोसो प्रहार गरिएको घटनाको कडा भर्त्सना गरेको छ।
मिति २०८२ साल जेठ २९ गते बिहीबार, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा कार्यरत माननीय न्यायाधीश डा. खुशीप्रसाद थारु र माननीय न्यायाधीश श्री अर्जुन महर्जन माथि न्याय सम्पादनकै क्रममा इजलासमै कालो मोसो प्रहार गरिएको थियो। घटनालाई रौतहट बारले गम्भीर आपराधिक कार्य मानेको छ।
रौतहट बारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “इजलासमै काम कारवाही गरिरहेको अवस्थामा न्यायाधीशमाथि गरिएको यस्तो आपराधिक कार्य अत्यन्त निन्दनीय छ। यस्ता कार्य सम्बन्धित न्यायाधीशमाथिको व्यक्तिगत आक्रमण मात्र नभई समग्र न्यायपालिकामाथिको आक्रमण हो भन्ने हाम्रो बुझाइ छ।”
बारले घटनामा संलग्न सवर्ण समूहका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कडा कारवाही गरिनुपर्ने माग राखेको छ। यस्ता आपराधिक कार्य कुनै हालतमा क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तिमा दोषीलाई शीघ्र पक्राउ गरी कानूनी कारवाही अगाडि बढाउन जोडदार माग गरिएको छ !










