चैत्र ३१,२०८१/काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्नुभएको छ । एक भिडिओ सन्देश जारी गर्दै उहाँले २०८२ सालको शुभकामना व्यक्त गर्नुभएको हो ।उहाँले हरेक नयाँ वर्ष आशा र विश्वास बोकेर आउने भए पनि वर्षको बिदाइ भने ‘घनघोर निराशा’बीच हुने गरेको बताउनुभयो ।आफ्नो शुभकामना सन्देशमा पूर्वराजा शाहले गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेको पनि स्वीकार गर्नुभयो । “केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी र तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो”, उहाँले भन्नुभयो ।यद्यपि, पूर्वराजा शाहले उक्त हिंसात्मक प्रदर्शनमा भएको मानवीय वा भौतिक क्षतिको जिम्मेवारी भने लिनुभएन ।

राष्ट्रियता र प्रजातन्त्रलाई मूल भावना मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको परम्परामा आफ्नो मान्यता रहेको पनि उहाँले बताउनुभएको छ । यस्तै राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने पनि उहाँले बताउनुभयो ।यस्तै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशलाई राज्यसत्ताको मूलमन्त्र सोच्नु पर्ने पनि उहाँले बताउनुभयो । सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीनारायण शाहको मूल सार रहेको बताउँदै यही विचार राजनीतिको मूल धार हुनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here