५ चैत, काठमाडौं । नेपाली कांग्रेसको विधान अनुसार सभापतिले पदबाट राजीनामा दिँदा उपसभापति समक्ष पेश गर्नुपर्नेछ । विधानको त्यही व्यवस्था अनुसार कांग्रेस सभापति गगन थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।उपसभापतिलाई राजीनामा बुझाउनुपर्ने व्यवस्था छ । सभापतिले दिएको राजीनामा उपसभापतिले केन्द्रीय समितिलाई जानकारी गराउनुपर्ने विधानको प्रावधान छ ।
केन्द्रीय समितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिलाई कार्यवाहक सभापति तोक्ने व्यवस्था छ ।निर्वाचनको पूर्ण परिणाम नआउँदै (फागुन २५ गते) उपसभापति शर्माले भेटेर सभापति पदबाट राजीनामा दिने बताएका थिए ।निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचितको टुंगो लगाइसकेपछि सभापति थापाले पार्टीको सर्वोच्च पदबाट राजीनामा दिएका छन् । निर्वाचनबाट अपेक्षित नतिजा कांग्रेसको पक्षमा नआएसँगै उनी राजीनामा गर्ने मनस्थितिमा पुगेका थिए ।
निर्वाचनको परिणामलाई लिएर कांग्रेसभित्र धेरैथरी धारणाहरु प्रवाहित भइरहेका छन् । पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरु चुनावको नजिक विशेष महाधिवेशन गर्दा पार्टी कित्ता भएको र त्यसकै कारणले पराजय भोग्नु परेको तर्क गरेका छन् ।सभापति थापा पक्षका नेता एवं कार्यकर्ताहरु परिणाम अपेक्षित नआउनुमा पूर्व संस्थापन पक्षले चुनावमा गरेको असहयोगलाई पनि कारण औंल्याएका छन् ।














