चन्दन कूमार महतो , रौतहट, भदौ ८ गते।

रौतहटको सदरमुकाम गौरमा आइतबार सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिले विशाल विरोध र्‍यालीसहित जनप्रदर्शन गरेको छ । प्रदर्शनको प्रमुख उद्देश्य जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य मधेसी नेतामाथि लगाइएका मुद्दा खारेज गर्न माग गर्नु थियो । उनीहरूका अनुसार गौर घटना राजनीतिक विषय भएको भए पनि सरकार राजनीतिक प्रतिशोधको आधारमा निर्दोष नेताहरूलाई फसाउन खोजिरहेको छ ।

सर्वदलीय संघर्ष समितिको अध्यक्ष पुर्व सांसद रामकिशोर प्रसाद यादबको नेतृत्वमा भएको उक्त प्रदर्शनमा जसपा नेपाल, नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा नेपाल, नेकपा (एस) लगायतका नेताहरू सहभागी थिए। र्‍याली रामजानकी धर्मशालाबाट सुरु भई गौर परिक्रमा गर्दै मधेशी क्रान्ति चोकमा कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले “राजनीतिक प्रतिशोध बन्द गर”, “उपेन्द्र यादवलगायत नेताहरूलाई झूठा मुद्दामा फसाउन पाइँदैन”, “गौर घटनाको निष्पक्ष छानबिन गर”, “मानव अधिकार आयोग लगायतका प्रतिवेदन सार्वजनिक गर” लगायत नाराबाजी गरेका थिए ।

मधेशी क्रान्ति चोकमा आयोजित कोणसभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सासंद रामकिशोर प्रसाद यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि गम्भीर आरोप लगाए। उनका अनुसार भूमि सम्बन्धी अध्यादेशमा सहयोग नगरेको निहुँमा उपेन्द्र यादवसहित १३० जना निर्दोष नेताहरूमाथि सुनियोजित षड्यन्त्रपूर्वक गौर घटनासँग जोडेर मुद्दा लगाइएको हो ।

जसपा नेपाल रौतहट जिल्लाको अध्यक्ष राजीव रंजन उर्फ राजू यादवले समेत सरकारको नियतप्रति प्रश्न उठाउँदै भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छानबिन समितिहरूले गौर घटनाको दोषी प्रभु साहमाथि देखाए पनि उनलाई नछोइ निर्दोष नेताहरूमाथि कारबाही गर्न खोज्नु अन्याय हो।” उनले चेतावनी दिए, “यदि सरकारले बलजबर्जस्ती फसाउने प्रयास गर्‍यो भने हामी ठूलो विद्रोहमा उत्रिनेछौं।”

कोणसभामा नेकपा एमालेका नेता बबन सिंहले पनि गौर घटनाको मुख्य योजनाकार तत्कालीन माओवादी नेता प्रभु साह रहेको दाबी गरे। उनले सरकारले साहमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखे।

नेपाली कांग्रेसका नेता रामचन्द्र गिरीले पनि प्रभु साहकै घमण्ड, दम्भ र अहंकारले उक्त घटना घटेको टिप्पणी गर्दै सरकारलाई वास्तवीक दोषीलाई कारबाही गर्न आग्रह गरेका छन् ।

त्यस्तै, लोसपा तथा नेकपा (एस) का नेताहरूले समेत सरकारले मधेशी नेताहरूलाई फसाउन प्रभु साहको निर्देशनमा झूठा जाहेरी दर्ता गराएको आरोप लगाए थिए ।

सर्वदलीय विरोध प्रदर्शन कार्यक्रम जसपा नेपालका केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सांसद शोभा साह,जसपा नेपालका नेता राजाबाबु साह ,लोसपा नेता बाबुलाल साह, नेकपा एमालेका नेता बबन सिंह, नेकपा (एस) का नेता रेवन्त झा, कांग्रेस नेता रामचन्द्र गिरी, लोसपा नेता अनिल सिंह लगायत हजारौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here