रौतहट , असार १९ गते, चन्दन कूमार महतो
सर्लाहीको बरहथवा नगरपालिकामा आत्महत्या न्यूनीकरणसम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। गृहसञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशको आयोजनामा बिहीबार बरहथवाको जियान पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका करिब ४ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आत्महत्याको प्रमुख कारणहरूमाथि ध्यानाकर्षण गराउँदै सचेतना फैलाउने उद्देश्यले नाटक मार्फत सन्देश दिइएको थियो। समाजमा डिप्रेसन, घरेलु हिंसा, मानसिक तनाव, सामाजिक–आर्थिक समस्याजस्ता कारणले आत्महत्याका घटना बढिरहेको सन्देश नाटकमार्फत प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले आत्महत्या जस्ता गम्भीर समस्यालाई रोक्न सबै सरोकारवाला निकायहरू मिलेर यस्ता कार्यक्रमहरू गाउँ–सहर, विद्यालय तथा सार्वजनिक स्थानहरूमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन्।
“आत्महत्या न्यूनीकरणका लागि यसको जरा समेट्ने कारण पहिचान गर्न जरुरी छ,” नगर प्रमुख कटुवालले भनिन्, “यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई गम्भीर सामाजिक विषयमा सोच्न प्रेरणा दिन्छ।”
त्यसैगरी, मधेश प्रदेशका गृहमन्त्रालय तथा कानुनमन्त्री राजकुमार लेखीले कार्यक्रममा सम्बोधन गर्दै आत्महत्या न्यूनीकरण अभियानमा सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए। “समाजमा बढ्दो विकृति र विसंगतिलाई नियन्त्रित गर्न अब सबै पक्ष एकजुट भएर अघि बढ्न जरुरी छ,” मन्त्री लेखीले भने, “गणतन्त्रले दिएको उपलब्धि बुझ्न विद्यार्थीहरू सक्षम हुनु जरुरी छ।
कार्यक्रममा प्रमुख अतिथी, गृह सन्चार तथा कानुन मन्त्री राजकुमार लेखी, विशिष्ट अतिथि बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कटुवाल, प्रमुख जिल्ला अधिकारि तुलसी बहादुर श्रेष्ठ, मिडिया काउन्सिलको सदस्य बन्धना झा, लगायत बिधार्थीहरुको उपस्थिती रहेको थियो।










